विराट कोहली टिममा परेकोमा भारतीय पूर्व कप्तान कपिल देव असन्तुष्ट

२६ असार, काठमाडौं । भारतीय पूर्व कप्तान तथा लेजेन्ड अलराउन्डर कपिल देवले भारतीय टिममा पर्न नाम भन्दा पनि प्रदर्शन महत्वपूर्ण रहेको बताएका छन् ।

विराट कोहलीको पछिल्ला केही वर्षमा तीन वटै फम्र्याटमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । कपिल देवले पूर्व कप्तान कोहलीलाई संकेत गर्दै नामको आधारमा भन्दा पनि खेलको आधारमा खेलाडी छनोट गर्दा टिम राम्रो हुने बताएका छन् । ‘प्रदर्शन राम्रो भएका खेलाडी छान्नु पर्छ, हामीसँग जति पनि विकल्प छन्, नामको आधारमा मात्रै टिममा परिँदैन । त्यसका लागि खेलको पछिल्लो प्रदर्शन जरुरी छ’, उनले भने ।

कोहलीको स्थानमा दिपक हुड्डाले टि–२० जस्ता छोटो फम्र्याटको क्रिकेटमा राम्रो प्रदर्शनका साथ आशा देखाएका छन् । हुड्डाले आयरल्यान्ड भ्रमणमा शतकका साथसाथै सर्वाधिक छिटो ३३ रन बनाउँदै भारतीय क्रिकेट टिमको टि–२० अन्तर्राष्ट्रिय फम्र्याटमा वान डाउन ब्याटरका रुपमा स्थान बनाइ रहेका छन् ।

तर भारत र इङ्ल्यान्डबीचको ३ खेलको टी–२० शृंखलामा हुड्डाको स्थानमा वान डाउनमा विराट कोहलीलाई स्थान दिइएको थियो । जुन खेलमा उनी १ रनमा क्याच आउट भएका थिए । यसलाई हेरेर पूर्वकप्तान कपिल देवले खेलाडी छनोट र टिमको बारेमा टिप्पणी गरेका हुन् ।

मध्यक्रमका खेलाडी श्रेयस अयरले पनि आफूहरु टिममा पर्नु पर्ने धारणा राख्दै आएका छन् । यस विषयमा पूर्वकप्तान कपिल देवले भने, ‘हुन सक्छ, तपाईं एउटा राम्रो स्थापित खेलाडी हो, तर पाँच खेलमा लगातार नराम्रो प्रदर्शन गर्नुभयो भने तपाईं टिममा नपर्न सक्नुहुन्छ ।’

कपिल देवले रविचन्द्र अश्विनको उदाहरण सहित अहिले कोहली भारतीय टिमको आवश्यकता नरहेको औंल्याएका थिए । उनले भने, ‘यदि टेष्टमा राम्रो खेलिरहेका रविचन्द्र पछिल्लो प्रदर्शन राम्रो नभएका कारण टिममा पर्दैनन् भने कोहली पनि पर्नु हुँदैन ।’

रविचन्द्रले पछिल्लो समय इङ्ल्यान्डसँग भएको पाँच खेल सम्मिलित टेष्ट सिरिजमा एउटा खेल पनि खेल्ने अवसर पाएका थिएनन् । ‘विश्वको दोस्रो उत्कृष्ट बलर टिमबाट बाहिर हुन सक्छ भने नम्बर एक ब्याटर पनि टिम बाहिर पर्न सक्छ’, कपिलले भने, ‘प्रदर्शन नराम्रो भएको खेलाडीलाई टिम बाहिर राख्नुपर्छ । म आशा गर्छु टिममा स्थान बनाउन स्वस्थ प्रतिस्पर्धा र छनोट हुनेछ । युवापुस्ताले कोहली भन्दा राम्रो प्रदर्शन गर्नुप¥यो । तर कोहलीले पनि आफ्नो प्रदर्शनको बारेमा सोच्नुपर्छ ।’

भारतलाई सन् १९८३ को विश्वकप जिताएका कप्तान कपिल देवले भने, ‘म पनि एक समयमा उत्कृष्ट खेलाडी थिएँ । टिममा रहन मैले पहिलो नम्बरको अथवा उत्कृष्ट खेलाडी जसरी खेल्नु जरुरी थियो ।’



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment