काठमाडौंमा हैजा, फुड प्वाइजनिंग, आउँलगायत फैलिएको छ – डा. रवीन्द्र पाण्डे

काठमाडौंमा हैजा, फुड प्वाइजनिंग, आउँलगायत फैलिएको छ । यो अवस्थाबाट बच्नको लागि तलका उपाय अपनाउनुहोला ।

उपायहरु :

१. सबै प्रकारको पानी ( धारा, इनार, ट्यांकर, जार, मिनरल वाटर आदि ) फिल्टर गरेर तथा १० मिनेट भकभक उमालेर ( Rolling boil ) मात्र पिउनुहोला | कतै जाँदा घरको पानी बोतलमा बोकेर जानुहोला ।

२. सकभर बाहिर खाना तथा खाजा नखानुहोला । खानु परेमा किचेन, भाँडा, पकाउने व्यक्ति आदि सफा भएको ठाउँमा मात्र खानुहोला | सकभर पानीको प्रयोग नहुने खाजा खानुहोला ।

३. तरकारी राम्रोसंग पखालेर तथा पूर्ण पाकेको मात्र सेवन गर्नुहोला ।

४. मासु सफा ठाउँमा मात्र किनेर तथा राम्रोसंग पकाएर मात्र खानुहोला ।

५. फलफूल राम्रोसंग धोएर, ताछेर मात्र खानुहोला ।

६. धेरै बालबालिका पौडी खेलेपछि ( स्विमिंग गरेपछि ) बिरामी भएका छन् | हाम्रा पौडी खेल्ने ठाउँमा पर्याप्त पानी आउने / जाने ब्यबस्था छैन | स्विमिंग पुलमा पिशाबको मात्रा अत्यधिक हुन्छ | शरीरको मयल, जुठो आदि हुने नै भयो | त्यस्तो पानीबाट हैजा, झाडावान्ता, हेपाटाइटिस ए, टाइफाइड ज्वरो, छालाका रोग आदि सर्ने सम्भावना अत्यधिक हुन्छ | तसर्थ यो बर्षा महिनामा पौडी नखेल्नुहोला

७. बर्षाको पानीले एकठाउँको फोहोर अर्को ठाउँमा पुर्याएको हुन्छ | हाम्रा जुत्ता तथा गाडीको टायरमा फोहोरको रस टाँसिएको हुनसक्छ | तसर्थ घरमा आएपछि जुत्ता, चप्पल, टायर राम्रोसंग पखालेर तथा जुत्ता / चप्पल बाहिर राखेर मात्र घरभित्र पस्नुहोला ।

८. दुधलाई राम्रोसंग उमालेर मात्र सेवन गर्नुहोला ।

९. यदि दिनमा ३ पटक वा सो भन्दा बढी पटक पखाला लाग्यो वा पातलो दिसा भयो भने जीवनजल, सादा पानी, सुप, दालको रस प्रशस्त मात्रामा सेवन गर्नुहोला | हैजादेखि अन्य झाडावान्तामा शरीरमा पानीको मात्रा कम भयो भने जोखिम बढ्ने हो | तसर्थ प्रशस्त झोलिलो खाने, नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खाने गर्नुहोला ।

१०. हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने भएकोले उक्त ब्याक्टेरिया एन्टिबायोटिकले मर्दछ | हैजामा मान्छेको मृत्यु ब्याक्टेरियाको कारणभन्दा जल बियोजन ( Dehydration ) को कारणले हुन्छ | तसर्थ औषधि तथा प्रशस्त पानी, जीवनजल सेवन गरेमा अस्पताल जानु पर्दैन ।

११. पानी तथा जीवनजल पर्याप्त मात्रामा खान नसकेमा, चौलानी पानीजस्तो पातलो पखाला लागेमा, मुख सुकेमा, छाला चिसो भएमा, पिशाब कम भएमा तथा बिरामी गलेमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोला | यस्ता बिरामीलाई सलाइनबाट उपचार गर्नुपर्ने हुन्छ । जल बियोजनको कारण अन्य अंगमा ( किड्नी आदि ) असर परेमा आइसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

१२. समयमै उपचार गरेमा हैजा तथा अन्य झाडावान्ताबाट मृत्यु हुने सम्भावना निकै कम हुन्छ । यी रोग फिको ओरल अर्थात दिशाजन्य हात र मुखको सम्पर्कबाट हुने भएकोले हात पटकपटक धुने, स्यनिटाइज गर्ने, साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने, हातलाई मुखमा राख्ने बेला हात सफा हुनुपर्ने आदि बानीको बिकास गर्नुपर्दछ | हैजा भए नभएको दिशाको कल्चर गरेर पत्ता लाग्दछ ।

@ डा. रवीन्द्र पाण्डे facebook page



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarDr. Rabindra PandeyhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment