रिभर फल्स पावरको आईपीओ ४ बजे बाँडफाँड हुँदै, १६ लाखले सेयर नपाउने

०९ जेठ, काठमाडाैँ । रिभर फल्स पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज दिउँसो ४ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा सेयर बाँडफाँडको मिति तय भएको क्यापिटलले नोटबजारलाई जानकारी दिएकाे छ ।

कम्पनीको आईपीओमा १५ लाख ९६ हजार ३८७ जना आवेदकले सेयर नपाउने प्रारम्भिक तथ्याङ्क देखिएको छ । प्रशोधन नभएको तथ्याङ्क र धितोपत्र बाँडफाँड निर्देशिका अनुसार उक्त संख्यामा सेयर नपाउने तथ्याङ्क देखिएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओमा आवेदन गरेका कुल १८ लाख ५० हजार २७७ आवेदकमध्ये ८६.२८ प्रतिशत (एक सय जनामा ८६ जना) ले सेयर नपाउने भएका हुन् । उक्त व्यवस्था बमोजिम २ लाख ५३ हजार ८९० जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर पाउनेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ५० हजार २७७ आवेदन परेको छ । उल्लेखित संख्याबाट २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ५९ हजार ५७० कित्ता सेयर माग भएको हो । अन्तिम दिनसम्म परेको आवेदन सर्वसाधारणबाट खरीद माग (२५ लाख ३८ हजार ९०० कित्ता) भन्दा ८.३७ गुणाले बढी हो ।

कम्पनीले सर्वसाधारणबाट (बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म) २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरीदका लागि आह्वान गरेको थियो । प्रतिसेयर १०० अंकित मूल्यमा कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरिएको थियो । जारी सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी सेयरमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

रिभर फल्स पावर कम्पनीले यसअघि चैत २७ देखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट १८ करोड ६ लाख १५ हजार रूपैयाँ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७।७८ सम्म वास्तविक प्रतिसेयर नेटवर्थ ८७.९८ रुपैयाँ रहेको छ ।

हाल ३५ करोड ७० लाख चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पूँजी ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा बासिन्दालाई १० प्रतिशत सेयर बिक्री गरेको छ भने सर्वसाधारणमा ३९ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । संस्थापक तर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ पूँजी चुक्ता भैसकेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment