पोखरा महानगरको नेतृत्व समाजवादीलाई दिने तयारी ! कांग्रेसले दियो विद्रोहको चेतावनी

२९ चैत, काठमाडौं । स्थानीय तहको चुनावमा पहिलोपटक नेकपा (एकीकृत समाजवादी) पार्टीले भाग लिँदैछ । साथै, गठबन्धनको आडमा भाग मात्रै नलिई महानगरमा दाबी पनि गरिरहेको छ । 

देशभरिका ६ महानगरमध्ये गठबन्धनमा आबद्ध चार दल स्थानीय तह निर्वाचनमा कसरी अगाडि बढ्ने र कुन महानगर कसले लिने भन्ने विषयमा मंगलबार चार बजे बैठक बस्दैछ ।
मंगलबारको बैठकले महानगरमध्ये कति कुन पार्टीले लिने भन्ने विषयमा निर्णय गरिने तयारी छ । तर अहिले नै भागबण्डा भने नगर्ने एक नेताले बताए । 

तर गठबन्धनभित्र अनौपचारिक रूपमा महानगर बाँडफाँट भइसकेको समाचार प्रकाशित भएका छन् । तर, औपचारिक रूपमा जानकारी आएको छैन ।

स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्ने नीतिअनुरुप चारै दलले महानगरपालिकामा आआफ्नो अडान राख्दै आएका छन् ।
जसमध्ये भूगोलका हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका समाजवादीले दाबी गरिरहेको छ । गठबन्धनमा सहमति भए पोखराचाहिँ समाजवादीले नै पाउनसक्ने सम्भावना छ ।

तर, कास्की कांग्रेस पोखरमा महानगरपालिका आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । गठबन्धनमा पोखर महानगरपालिका एसले पाउने सहमति भएको अनौपचारिक जानकारीका आधारमा कास्की कांग्रेसको नेतृत्वमा केन्द्रीय नेता, मन्त्री कांग्रेस नेतृत्वलाई दबाब दिन  मंगलबार काठमाडौं आउँदै छन् । 

कास्की कांग्रेस सभापति किशोरदत्त बरालले पोखरा महानगरपालिका समाजवादीले पाए कार्यकर्तामा आएको विग्रहका कारण परिणाम उल्टो आउने भएकाले नेतृत्वलाई सजग गराउन र धर्ना दिन काठमाडौं जाने कार्यक्रम रहेको सुनाए ।

“त्यही भएर हामी डेलिगेसनका लागि काठमाडौं आउँदैछौँ, आधिकारिक त केही छैन, हामीले पनि अनौपचारिक हल्ला सुनेका हौँ,” उनले भने, “यसरी नेतृत्वले निर्णय गर्न हुँदैन । यसरी जाँदा जित्ने सम्भावना कम रहन्छ भन्ने हाम्रो बुझाइ हो ।”

उनका अनुसार कास्की कांग्रेस नेतृत्व मंगलबार नै काठमाडौं आइपुग्नेछ ।

केन्द्रीय समितिले स्थानीयस्तरमा निर्णय लाद्न खोज्दा विद्रोह र नतिजा उल्टो आउने उनको बुझाइ छ ।

“केन्द्रीय कार्यसमितिले निर्णय गरेको खण्डमा पार्टी सभापतिको हिसाबले कार्यकर्तालाई त भनौँला । तर, कार्यकर्ताले स्वीकार्नुपर्‍यो । विद्रोहको पनि उत्तिकै सम्भावना छ । हामी यसबारे नेतृत्वलाई जानकारी गराउनेछौँ,” उनले भने ।

समाजवादीले कास्कीमा आफ्नो ६ हजार संगठित मत रहेको दाबी गर्दै आएको छ । समाजवादी पार्टी कास्कीका अध्यक्ष धनराज आचार्यले जिल्लाको गठबन्धन बैठकमा पनि कास्कीमा आफ्ना संगठित सदस्य मात्रै ६ हजार र मत संख्या १७ हजारभन्दा बढी रहेको बताएका थिए । 

तर, कांग्रेसको नेतृत्व भने त्यसलाई स्विकार्दैन ।

कांग्रेस कास्कीको विश्लेषणअनुसार कास्कीमा समाजवादीको मत तीनदेखि चार हजारको बीचमा मात्रै छ । “बढीमा पाँच हजार होला,”  कास्की कांग्रेसका एक नेताले भने ।

यता कांग्रेस पोखरा महानगरपालिकामा एक्लै लडे पनि जित्ने दाबी गर्दै आएको छ । 

सभापति बराल भन्छन्, “हाम्रो अघिल्लो मत ४६ हजारभन्दा बढी हो । ३९ हजार मतदाता थपिँदा ६५ हजारसम्म त हाम्रोमात्रै मत छ । हामी एक्लै पनि लड्न सक्छौँ । ३३ मध्ये पोखराका २२ वडा र प्रमुख/उपप्रमुख एक्लै लडे पनि जित्न सकिन्छ,” उनले भने ।
अर्कातर्फ, अहिले ३९ हजार ६४५ मतदाता थपिँदा कुल मतदाताको संख्या दुई लाख सात हजार ७१२ छ ।

दुई लाख सात हजार मतदाता रहेको पोखरामा पाँच हजार मत संख्या रहेको समाजवादीलाई स्विकार्न कांग्रेसलाई कठिन हुने अर्का बताउँछन् । 

“समस्या नै त्यही हो, ६५ हजारमा पाँच हजार थप्ने कि, पाँच हजारमा ६५ हजार थप्ने ? केन्द्रले निर्णय त गर्ला, तर कार्यकर्ताले मान्नुपर्‍यो नि ! त्यही गल्ती नहोस् भनेर सचेत गराउन डेलिगेसन हिँडेका हौँ,” उनले भने ।

परिणाम आउलाजस्तो लाग्दैन 

राजनीतिक विश्लेषक विश्व सिग्देल गठबन्धन केन्द्रबाट भएको हुँदा स्थानीयस्तरमा परिणाम उल्टो आउनसक्ने बताउँछन् । दुई धुव्रका दलबीचको एलायन्स निश्चित स्वार्थका लागि भएको हुँदा यसले गठबन्धनलाई फाइदा पुग्नेमा उनको शंका छ ।

फोन सम्पर्कमा उनले भने, “एउटा कुरा के भन्छु भने, यो गठबन्धन सजातीय होइन । कागतीको हाँगामा बेलौतीको हाँगो ड्राफ्ट गरेर आँपको फल आएजस्तो हो ।”

अर्कातर्फ प्रि–पोल एलायन्स भएकाले यसको धर्म गठबन्धनले ननिभाएको उनको विश्लेषण छ ।

“यसको धर्म के हुन्छ भने, घोषणापत्र एउटै हुन्छ, चुनाव चिह्न एउटै हुन्छ । चिह्न सम्भवः नभए घोषणापत्र त एउटै हुन्छ । भारतमा चाहिँ एनडीय एलायन्स र विजेपीको घोषणापत्र एउटै हुन्छ । एनडीय हिन्दू राज्यको पक्षमा हुँदैन, भाजपाको अल्टिमेट गोलचाहिँ हिन्दूराज्य नै हो । एनडीएसँगको गठबन्धनमा भाजपाले हिन्दूराज्यलाई थाती राखेर एलायन्स गर्छ, जिकिर गर्दैन,” उनले थपे, “भनेजस्तै गरेर, जुनजुन एजेन्डामा गठबन्धनका दलमा चरम विमति हुन्छ । त्यसलाई थाती राखेर घोषणापत्र तयार हुन्छ । तर, यी दुईवटै कुरा यो गठबन्धनमा देखिएन । एउटा यिनीहरू सजातीय होइनन् । दोस्रो प्रिपोल एलायन्सको धर्म निर्वाह पनि गरिएको छैन ।”

यसले गर्दा सोझै विपक्षीलाई फाइदा हुने उनको तर्क छ । अर्कातर्फ, अघिल्लो मतपरिणाम हेर्दा पनि पोखरा एमालेको पकड क्षेत्र हो । जहाँ, एमालेका उम्मेदवारले कांग्रेस माओवादी गठबन्धनका उमेदवारलाई १३ हजार ७०२ मतान्तरले पराजित गरेका थिए ।
अहिले पनि गठबन्धन भएको खण्डमा विद्रोह हुने र विपक्षीलाई नै फाइदा पुग्नसक्ने उनी बताउँछन् ।

“यसको फाइदा निश्चितरूपमा विपक्षीलाई हुनसक्छ । किनभने, गठबन्धन कसरी हुनुपथ्र्यो, प्रक्रिया, नम्र्स केके हुन्छन् भन्ने कुराको ठिकविपरीत हतारमा, हतासमा निश्चित उद्देश्यका लागि गरिएको गठबन्धन हो यो । त्यसकारण परिणाम आउलाजस्तो लाग्दैन,” उनले भने ।

गठबन्धनका उमेदवारले परम्परागत मतदातालाई फकाउन गठबन्धनलाई सकस हुने र उनीहरूलाई कन्भिन्स गर्न गाह्रो हुने उनी देख्छन् ।

“जुन परम्परागत मतदाता छन् नि ! गठबन्धन भइहाल्यो, फेरि भन्छु, प्रिपोल एलायन्सको नम्र्स पूरा गरिएको छैन । उनीहरूको मिनिमन एजेन्डामा एउटा एजेन्डा बन्छ । र, त्यही एजेन्डा बोकेर गठबन्धनका दल चुनावमा जाने हो,” उनले थपे, “कांग्रेस, समाजवादी, माओवादीको आफ्नै, कही कतै नजोडिने प्रकृतिका घोषणापत्र छन् । तिनलाई एकै ठाउँमा राखेर एउटै मान्छेले बोकेर कसरी जान सक्छ ? हामी एउटै हौँ, भनेर आममानिसलाई कसरी कन्भिन्स गर्न सक्छ ? त्यो अप्ठ्यारो गठबन्धनलाई छ ।” 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

बाह्रखरीबाट



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPokharaPolitic
Comments (0)
Add Comment