गलुङ्मा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू

१० फागुन, गलकोट । रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि बागलुङका तीन वटा स्थानीय तहमा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू गरिएको छ ।

पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको बजेटमा यहाँका तीन वटा स्थानीय तहमा पूर्ण खोप कार्यक्रम लागू गरेको हो ।

गत वर्ष काठेखोला गाउँपालिकाबाट शुरु भएको पूर्ण खोप कार्यक्रम चालु आर्थिक वर्षमा जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र कोठेखोलामा लागू भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । दश पालिकामध्ये काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका गाईभैसी, भेडा, बाख्रा, बङ्गुर र कुकुरलाई पूर्ण खोप दिन थालिएको हो ।

स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु गरेको केन्द्रका प्राविधिक केशव प्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने र खोप लगाउन कार्य गर्ने छन् ।

“महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “खोप कार्यक्रममा भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप दिइने छ ।”

यही फागुन ८ गतेबाट शुरु भएको यो कार्यक्रमअन्तर्गत तीन पालिकामा २६ जना पशु प्राविधिक खटाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्राविधिक शर्माले जानकारी दिनुभयो । “

पशुलाई रोग सङ्क्रमणबाट बचाएर मासु तथा दुग्धजन्य पदार्थमा वृद्धि गर्नु हाम्रो उदेश्य हो, दुई वर्ष अघि काठेखोला गाउँपालिका–६ बिहुँबाट शुरु गरेको पूर्ण खोप गत आर्थिक वर्षमा काठेखोला गाउँपालिकाभरमा लागू गरिएको थियो”, उहाँले भन्नुभयो “अहिले जिल्लाका तीन पालिकामा शुरु गरिएको र दुई महिना भित्रै यो कार्यक्रम सम्पन्न गरिनेछ ।”

एउटै पालिकामा लगातार तीन वर्षसम्म पूर्ण खोप लगाएपछि कार्यक्रम स्थगन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । गण्डकी प्रदेश सरकारले पूर्ण खोप कार्यक्रमअन्र्तगत यहाँका तीन पालिकाका लागि चालु आर्थिक वर्षमा रु. ७० लाख बजेट बिनियोजन गरेको छ ।

पूर्ण खोप कार्यक्रम निकै खर्चिलो र प्राविधिक जनशक्तिको अभावका कारण सबै पालिकामा एकैपटक यो कार्यक्रम सञ्चालन गर्न नसकिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो । “आगमी वर्ष बढी बजेट माग गरिने र जिल्लाका सबै पालिकामा पूर्णखोप कार्यक्रम लागू गरिने छ”, उहाँले भन्नुभयो, “ गण्डकी प्रदेश सरकारले यो प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाएर सङ्क्रमक रोग निर्मूल गर्ने योजना बनाएको छ । सरकारको यो पञ्चवर्षीय योजना हो ।”

तीन पालिकामा पूर्ण खोप लगाउँदा बजेट बचत भएमा जैमिनी नगरपालिका थप गर्ने योजना रहेको पनि उहाँको भनाइ छ । प्रमुख डा सापकोटाका अनुसार एक समूहमा दूई जना पशु प्राविधिकसहित १३ समूहमा २६ प्राविधिकलाई गाउँ–गाउँ खटाइएको छ । बागलुङ नगरपालिकामा छ समूह, ताराखोला गाउँपालिकामा चार र काठेखोला गाउँपालिकामा तीन समूहमा प्राविधिक खटाइएको हो ।

बागलुङ नगरपालिकामा १२ हजार ३०० गाईभैसी, १७ हजार बाख्रा र एक हजार ४०० बङ्गुर, ताराखोला गाउँपालिकामा ४ हजार ६०० गाईभैसी, ८ हजार ५०० बाख्रा र २०० बङ्गुर र काठेखोला गाउँपालिकामा चौध हजार बाख्रा, नौ हजार ७०० बङ्गुर रहेको केन्द्रले जनाएको छ । रेविजविरुद्ध दिवसमा जिल्लाका एक हजार ६०० कुकुरलाई खोप लगाइसकिएको बताइएको छ ।

पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने केन्द्रले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

AnimalbusinessCoronavirusCovid-19Deathdigital khabarLockdownnepalNews
Comments (0)
Add Comment