नेपाली कथामा एउटा प्रयोग : दुखान्त कथा – “साधु”

:: साधु ::

बच्चुराम वाग्ले

२९ पुष, काठमाडाैं ।


साधु – आधा रातको समयमा तपाईं खोलातिर जानुको कारण के हुन सक्छ ?

कृष्णचन्द्रले रिसाउँदै जवाफ दिए – तपाईं त आत्मज्ञानी हुनुहुन्छ । तपाईं स्वयं जान्नुहोस् ।

साधु – आत्मज्ञानी त होइन, केवल भिक्षुक हुँ । यस समय म तपाईंलाई त्यता जान भने दिन्न ।

कृष्णचन्द्र – तपाईं आफ्नो बाटो लाग्नुहोस् । मेरो काममा विघ्न हाल्ने तपाईंलाई केही अधिकार छैन ।

साधु – अधिकार नभएको भए म भिक्षुक तपाईंलाई रोक्ने पनि थिइन । तपाईं मलाई चिन्नुहुन्न, तर म तपाईंको धर्मपुत्र हुँ, मेरो नाम गजाधर पाण्डे हो ।

कृष्णचन्द्र – ओहो! तपाईं गजाधर पाण्डे हो ? तपाईंले यो भेष कहिलेदेखि धारण गर्नु भयो ? तपाईं सँग भेट गर्ने मेरो उट्कट अभिलाषा थियो । म तपाईंलाई धेरै सवाल गर्न चाहन्थें ।

गजाधर – मेरो आश्रम गंगातटको एक वृक्षको फेदमा छ । जाऔं, त्यहाँ थोरै विश्राम गर्नुहोस् । म मेरा सारा बृत्तान्त तपाईंलाई भनिदिन्छु ।

यात्रामा दुबै जनाको बीचमा केही वार्ता भएन । दुबै जना मौन थिए । केही समयमा उनिहरू त्यो वृक्ष समीप पुगे, जहाँ एक अगेनु, पानीले भरिएको एक ठूलो गाग्रो अर्थात् घ्याम्पो थियो । भूमिमा एक मृगचर्म बिछाइएको, एक कमण्डलु र केही पुस्तकको ठेली पनि राखिएको थियो ।

कृष्णचन्द्र अगेनु छेउमा बसेर आगो ताप्दै बोले, – तपाईं साधु नै हुनु भएछ, सत्य बोल्नुहोला, सुमनको यस्तो कुप्रवृत्ती कसरी हुन गयो?

गजाधर अग्निको प्रकाशमा कृष्णचन्द्रको अनुहार मर्मभेदी दृष्टिले हेरिरहेको थियो । उसले उनको अनुहारमा आफ्नो हृदयका समस्त चित्र कोरिएको पायो । उ अब गजाधर थिएन । सत्सँग र विरक्तिले उसको ज्ञानलाई विकशित गरी दिएको थियो । उ त्यो घटनाका बारेमा जती सोच्दथ्यो उती नै उसलाई पश्चाताप हुन्थ्यो । त्यसप्रकार अनुतप्त भएर उसको हृदय सुमनका बारेमा धेरै उदार भएको थियो । कहिले कहीं उसलाई यस्तो लाग्थ्यो कि गएर उसको चरणमा शिर राखिदिउँ ।

गजाधरले भने, – यसको कारण मैले गरेको अन्याय थियो । यो सबै मेरो निर्दयता र अमानवीय व्यवहारको फल हो । उनी सर्वगुण सम्पन्ना थिइन् । उनी बडाघरको स्वामिनी बन्ने योग्य थिइन् । म जस्तो दुष्ट, दुराचारी मनुष्य उनको योग्य थिइन । त्यो समय यो मेरो स्थुल दृष्टिले उसको गुणहरूलाई देखेन । कुनै कष्ट बाँकी थिएन जुन उसले झेल्न नपरोस् । तर, उसले कहिले पनि चित्त दुखाइन । उ मेरो आदर गर्दथी । तर मलाई लाग्दथ्यो, उ मलाई नाटक देखाइरहेकी छे । उसको सन्तोष, उसको भक्ती, उसको गाम्भिर्यता मैले बुझ्न सकिन । मलाई लाग्दथ्यो कि उ मसँग कुनै छल गरिरहेकी छ । यदि उ मसँग सानो सानो कुरामा बाझाबाझ गर्दथी, घुर्की देखाउने गर्दथी भने म सम्झन्थे कि मलाई विश्वास हुन्थ्यो । उसको उच्च आदर्श नै मेरो अविश्वासको करण भयो । म उसको सतित्वमाथि नै सन्देह गर्न लागें । अन्त्यमा यो दशा भयो कि एक रात उसले एक सहेलीको घरमा बसेकी कारणले मैले उसलाई घरबाट निकाली दिएं ।

कृष्णचन्द्रले बीचैमा रोकेर, – तिम्रो बुद्धि त्यस समय कहाँ गएको थियो ? तिमीलाई अलिकति पनि उनको बारेमा ध्यान गएन कि तिम्रो निर्दयताले यती ठूलो कुललाई कलंकीत गर्यो ।

गजाधरले भने, – महाराज ! अब म के भनौ? मलाई के भयो? मैले पुन: उनको जानकारी पनि लिइन । तर, उनको अन्त:करण शुध्द थियो । पापाचरणसँग उनको घ्रिणा थियो । अब उ विधवाश्रममा बस्न लागेकी हुँदा सबैजना उसँग प्रसन्न छन् । उसको धर्मनिष्टा देख्नेहरू चकित हुन्छन् ।

गजाधरको कुरो सुनेर कृष्णचन्द्रको हृदय सुमनको निम्ति केही शान्त भयो । तर, जति यतातरफ शान्त थियो अर्कोतरफ कठोर भयो । जसरी साधारण गतिले बगिरहेको जलधार रोकिएर अर्कोतरफ वेगले वहन सुरु गर्दछ । उनले गजाधरलाई राता राता आँखाले हिरे, जसरी भोको सिंहले आफ्नो सिकारलाई हेर्दछ । उनलाई निश्चय भयो कि यही मनुष्य हो जसले उनको कुललाई कलंकित गर्यो । त्यती मात्र कहाँ हो र? उसले सुमनको साथमा पनि अन्याय गरेको थियो । उनलाई नाना प्रकारका दु:ख कष्ट दियो । के म उसलाई त्यत्तिकइ छोड्न सक्थें । जो उनी आफ्नो दुष्क्रित्य प्रति लज्जित छन् । तर, उसले ती कुरा मलाई किन भनिरहेको छ । शायद, उ सम्झदो हो कि म उसलाई केही पनि गर्न सक्दिन । हुन सक्छ, नत्र भने मेरो समुन्ने उ आफ्नो कसुर बेली विस्तार लगाएर निर्भयताका साथ किन स्वीकार गरोस् ।

कृष्णचन्द्रले गजाधरको मनोभावनालाई बुझ्न सकेनन् । उनले केही क्षणलाई आगोमा नियालिरहे, फेरी कठोर स्वरमा कड्किएर भने, गजाधर ! तैले मेरो कुललाई भासिस् । तैंले मलाई कहीं पनि मुख देखाउन लायक राखिनस् । तैंले मेरी स्त्रीसन्तानलाई मारिदिस्, उनको सत्यानाश गरिदिस्, त्यती गरिसकेर पनि फेरी मेरो सामुन्ने यसरी बसेको छस् कि कुनै महात्मा बसेको होस् । तैंले त एक डाडु तातो पानी खन्याएर मर्नु पर्ने थियो ।

साधु

गजाधर जमिन कोतरिरहेको थियो, उसले कृष्णचन्द्रको मुखतिर हेर्न सकेको थिएन ।

कृष्णचन्द्रले भने, – त दरिद्र थिस्, त्यसमा तेरो कुनै दोष थिएन, तैंले आफ्नो पत्निलाई यथेष्ठ भरणपोषण गर्न सकिनस्, त्यसमा तेरो कुनै दोष रहेन । तैंले उसको मनोभावनालाई बुझ्न सकिनस्, उसको सद्विचारपूर्ण मर्म तलाई सुझेन, त्यसका लागि पनि तँ दोषी भईनस् । तेरो अपराध के हो भने उसलाई घरबाट किन निकाला गरिस् ? तैले उसलाई किन मारिनस् । तलाई यदि उसको पतिव्रता माथि सन्देह थियो भने, तैले उसको शिर गिड्ने काम किन नगरेको ? र तँलाई त्यती काम गर्न साहस नआएको हो भने तैले खुद स्वयम् प्राण त्याग किन मरिनस् ? किन विष खाइनस् । यदि तैंले उसको जीवन अन्त्य गरिदिएको भए, उसको यो दुर्दशा हुने थिएन, मेरो कुलमा यो कलंक लाग्ने पनि थिएन । फेरी त भन्लास् म एक पुरुष हुँ । तेरो यही कायरताका लागि, यही निर्लज्जाका लागि धिक्कार छ । जो पुरुष यती नीच छ कि आफ्नो स्त्रीलाई अर्कासँग प्रेमालाप गर्दै रहेको देखेर पनि उसको अन्तर्मन विच्छिप्त हुँदैन भने उसलाई पशु भन्दा पनि गये गुज्रेको भनिन्छ ।

गजाधरलाई लाग्यो कि उसले सुमनलाई घरबाट निकालबास गरेको स्वीकारोक्तिले ब्रह्मपासमा फसेको महसुश भयो । उ मन मनै पछुतो गर्न लाग्यो कि उदारताको धुनमा म यती असावधान किन भएँ । तिरस्कारको मात्रा पनि उसको आशा भन्दा अधिक भयो । उसले सम्झेको नै थिएन कि तिरस्कारले यो रूप धारण गर्ने छ र त्यसले उसको हृदयमा त्यती ठूलो आघात पुर्याउने छ । अनुतप्त हृदय त्यो तिरस्कार चाहन्छ, जहाँ सहानुभुती र सहृदयता होस्, त्यो नहोस् कि जहाँ अपमानसूचक र क्रुरतापूर्ण होस् । पाकेको पिलो वा फोका पनि निचोरिएर खिल सहित निस्केको राम्रो । त्यहाँ खत रहन्छ तर, खिल निकाले पश्चात पिलोको पीडा हराउँदै जान्छ । गजाधरले आफ्नो कृयाकलाप प्रति पश्चाताप गर्दै पछुतायो । उसको मन उसको पूर्वक्रित्य प्रति समर्थन गर्नका लागि अधिर हुन लाग्यो ।

कृष्णचन्द्रले गजाधरलाई भने, – तैंले उसलाई किन मारिनस् ?

गजाधरले गम्भिर स्वरमा जवाफ दियो, – मेरो हृदय त्यती कठोर थिएन ।

कृष्णचन्द्रले कड्किएर सोधे, – अनि, घरबाट किन निकालिस् ?

गजाधर – मेरो मनमा त्यसबेला केवल उसको पिण्ड कसरी छुटाउने भन्ने प्रश्न मात्र खड्किएको थियो ।

कृष्णचन्द्र – किन विष पिनस् त?

गजाधर केही हड्बड साथ – मैले व्यर्थमा किन मर्नु ?

कृष्णचन्द्र – व्यर्थमा मर्नु भनेको व्यर्थमा जीउनु भन्दा उत्तम हो ।

गजाधर – तपाईं मेरो जीवनलाई व्यर्थको भन्न सक्नु हुन्न । तपाईंलाई उमानाथले नभन्नुभएको होला, तर, मेरो यही याचना-व्रित्तिले वहाँलाई शान्ताको विवाहका लागि पन्ध्रशय रुपया दिएको छु र यसै समय पनि उनैका साथमा यो एकहजार रुपया लिएर जाँदै छु कि जसले उनले अन्त कतै विवाह गरिदिउन् ।

यती भनेर गजाधर चुप भए । उसले अनुभव गर्यो कि त्यो कुराको वयान गरेर उसले आफ्नो भलाद्मी पनको परिचय दिए । उसले सङ्कोचले आफ्नो शिर झुकाइदिए ।

कृष्णचन्द्रले सन्दिग्ध स्वरमा भने – उनले यो बिषयमा मसँग केही पनि भनेका छैनन् ।

गजाधर – यो त्यती ठूलो कुरो पनि भएन जुन तपाईंलाई भन्नु परोस् । मैले प्रसङ्गवश भनिदिएको हुँ । मलाई माफ गर्नुहोस् । मेरो अभिप्राय मात्र यति हो कि आत्मघात गरेर म संसारको कुनै उपकार गर्न सक्दिनथिए । यो उपक्रमले मेरो आफ्नो जीवनलाई उज्ज्वल बनाउन मलाई वाध्य गर्यो । सुसुप्त आत्मालाई जगाउनका लागि हाम्रा गल्तिहरू एक प्रकारको दैविक यन्त्रणा हुन्, जो हामीलाई सधैंका लागि सतर्क गरिरहन्छन् । शिक्षा, उपदेश, सत्सँग कुनै उपायबाट पनि हामीमा त्यती सुप्रभाव पर्दैन, जती हाम्रो भुलहरूका कुपरिणामलाई देखेर । सम्भव छ, तपाईं यिनै मेरा कायरतालाई बुझ्नुहोस्, तर, त्यही कायरता मेरा लागि शान्ति र सदुद्योगको एक अविरल धारा बन्यो । एक प्राणीको सर्वनाश गरेर आज म अनेकन अभागी कन्याको उद्दार गर्नमा सक्षम भएको छु र यही देखेर मलाई असीम आनन्द भईरहेको छ कि यो सत्प्रेरणा सुमनले नै ममा आफ्नो प्रभाव पारीरहेकी छ ।

मैले आफ्नो कुटीमा बसेर उसलाई कतिपटक गंगा स्नान गरेको देखेको छु र उसको श्रद्धा र धर्मनिष्टा देखेर विस्मित भएको छु । उसको मुखमण्डलमा शुद्ध अन्त:करणको विमल आभा देखिन्छ । उ पहिले एक कुशल ग्रिहिणी थिइ भने अब परम विदुषी हुन् र मलाई विश्वास छ कि एक दिन त्यो नारी समाजको श्रिङ्गार हुनेछिन् ।

कृष्णचन्द्रले पहिले यी वाक्यलाई यसरी सुनिदिए जसरी कुनै चतुर ग्राहक एक व्यापारिको अनुरोधपूर्ण वाक्य सुन्दछ । उ कहिले पनि भुल्दैन कि व्यापारी उसको स्वार्थपूर्ण कुरा सुनाइरहेको छ । तर, कृष्णचन्द्रमाथि बिस्तार बिस्तार उसको कुराले प्रभाव पार्न थालेको थियो । उनलाई लाग्यो कि मैले यो मनुष्यलाई चित्त दुख्ने कटु वाक्य बोलेर यसको मन भाँचेको छु, जो हृदयदेखि आफ्नो भुलमाथि लज्जित छ र जउसको समझदारिको बोझले भासिएको छ । हरे! म कती क्रितघ्न बन्न सकेको? त्यो बिचार मनमा उब्जिएपछि उनको नयन पानी पानी भयो । सरल हृदयको मनिस मैनका तरह जती छिटो पग्लन्छ उती नै छिटो जम्छ पनि ।

साधु

गजाधरले उनको अनुहारमा करुणा भरिएको दृष्टिले हेरेर भने, – यो समय यदि तपाईं कुनै साधुको पाहुना हुनुभयो भने कस्तो होला? प्रात: कालमा म तपाईंको साथमा जान्छु । यो कम्बलमा तपाईंलाई सर्दीले छुदैन ।

कृष्णचन्द्रले नम्रतापूर्वक भने, – कम्बलको आवश्यकता पर्दैन । यस्सै पल्टन्छु ।

गजाधरले भने, – तपाईं सम्झनु होला, कम्बल ओढ्नाले तपाईंलाई कम्बलको दोष लाग्ने छ, तर, यो कम्बल मेरो होइन । मैले यसलाई अतिथि सत्कारका लागि राखेको छु ।

कृष्णचन्द्रले अधिक आपत्ती जनाएनन् । उनलाई सर्दी लागिरहेको थियो । कम्बल ओढेर पल्टेका मात्र थिए, निदाए झैं गरिदिए । उनले पाएको निद्रा शारीरिक थकान मात्र थियो । उनले अनेक तर्कना गर्न थाले, उनी एक झ्यालखानामा थुनिएर मृत्यु शैय्यामा परेको स्वप्न देखे । विमारिका कारण जेल अधिकारीले घ्रिणित भावले हेरेको हुँदा उसँग भनाभन् भएको, उसले भन्दै थियो, – तिम्रो रिहा हुन समय लाग्छ । छिटो हुने छाँट छैन । त्यत्तिकैमा गंगा र उनको पिता दुवै आएर खटियाको नजिकै उभिए । उनको मुख बिक्रित थियो र मुहारको कान्ति हराएको थियो । गंगाले रुदै भनिन् कि तिम्रो कारण हाम्रो यो दुर्दशा भयो । पिताले क्रोधयुक्त आँखा तर्दै भन्न थाले, के हाम्रो जीवनको अन्त्य नै तिम्रो जीवनको लक्ष हो, त्यसो भएर हामीले तिमीलाई जन्म दिएका हौं ? अब यो कालो टीका हाम्रो जीवनको अन्तकालसम्म साथ रहन्छ । तिमीले केवल चार दिनका लागि जीवित रहनाका लागि हामीलाई यो कष्ट दिएका छौ, तर, हामी यही क्षण तेरो प्राण लिन्छौं । त्यती भनेर बन्चरो लिएर उ तर्फ खनिए ।

कृष्णचन्द्रको निद्रा भङ्ग भयो । उसको छाती ढुक्ढुकले भारी भइरहेको थियो । सुत्दै गर्दा उनले भुले, कि, उनी घरबाट के भनेर यात्रामा निस्केका थिए । त्यो स्वप्नले कर्तव्य बोध गरायो । उनले आफुलाई धिक्कार भने । आत्मग्लानीको आगोमा जले । उनले सम्झे कि उनले स्वप्न देखेको नभएर एक आकाशवाणी भएको थियो ।

गजाधरको वयान बिस्तार बिस्तार उनको मानसपटलबाट हराउँदै गयो ।

सुमन चाहे सती होस् अथवा साध्वी, त्यसको वदलामा उसको मुखमा लागेको कालो धब्बा मेटिने छैन । यसका लागि महात्माहरू भन्ने गर्नु हुन्छ कि पापमा सुधार गर्ने ताकत हुन्छ । मलाई त त्यो अवसर कहिले पनि प्राप्त भएन । अब मबाट पाप भएको छ, तर, त्यसको अनुभव भएन । केही छैन, यो सबै इनैको शब्दजाल हो, उनले आफ्नो कायरतालाई शब्दको आडम्बरमा लुकाइदिए । यो मिथ्या हो, पापबाट पाप नै उत्पन्न हुन्छ । यदि पापबाट पुण्य हुने हो भने त आज यो संसारमा कोही पनि पापी रहने नै थिएनन् ।

यो सोचेर उनी बिस्तरामा पँलेटी कसेर बसे । गजाधर पनि अगेनु छेउमै थिए । कृष्णचन्द्र उठेर सुटुक्क गंगातट तर्फ लागे । उनले यो तय गरे कि आज यो वेदनाको अन्त्य गरेरै छोड्छु ।

चन्द्र अस्त भइसकेको थियो । साँझको कुहिरो बाक्लिन्दै थियो । अन्धकारले वृक्ष, पहाड र आकाशमा कुनै फरक परेको थिएन । कृष्णचन्द्र एक लौरोको सहारा हिंडिरहेका थिए, तर दृष्टिले भन्दा धेरै अनुमानको बलमा काम लिनुपरेको थियो । रोडा, ढुङ्गा, झाडी र लता लहराहरूबाट बचेर हिंड्नमा उनी यती तल्लिन थिए कि उनलाई आफ्नो अवस्थाको ध्यान रहेन ।

खोलाको किनारमा पुगेपछि उनलाई केही प्रकाश देखाइदियो । उनी त्यतै तिर वर्लिए । गंगाका लहरहरू आफ्नै तालमा सुसाइरहेका थिए । आकस्मात गजाधारको स्वर सुनियो । कृष्णचन्द्रले चिच्याएर उत्तर दिए, तर, मुखबाट पूरा शब्द निस्केको पनि थिएन, हावाको झोक्कामा हराएर अन्धकारमा लीन हुने दीपकको ज्योति जस्तै गंगाको लहरमा विलय भयो । शोक, लज्जा र चिन्तातप्त हृदयको डाह शीतल जलमा शान्त भयो । गजाधरले केवल यो शब्द सुने, “म यहाँ डुब्दै छु” र फेरि लहरहरूको पैसाचिक क्रिडा-ध्वनी वाहेक अरू केही पनि सुनिएन ।

शोकाकुल गजाधर गंगातटमा धेरै बेरसम्म उभिएर हेरिरह्यो । त्यही शब्द चारै तिरबाट उसले सुन्दथ्यो । नजिकैको पहाड र छेउको गंगातट, त्यहाँ तैरिने लहरहरू र चारै तिर घेरेर बसेका दुर्भेद्य अन्धकार तिनै शब्दहरूले प्रतिध्वनित भइरहेको थियो ।

हरि: ॐ ।।



मल्टिमिडिया ग्यालरी

Bacchu Ram WagleybusinessCoronavirusCulturedigital khabarhealthLockdownnepalNewsPoliticRochakSadhuStorytechnologyWagley
Comments (0)
Add Comment