रसुवालीलाई आजको आजै सरकारी सेवा

१३ पुष, रसुवा । जिल्ला प्रशासन कार्यालयले रसुवालीलाई सबैखाले सेवा छिटोछरितो प्रदान गर्न थालेको छ । प्रशासनलाई चुस्तदुरूस्त बनाइ नागरिकलाई सुशासन दिलाउन तिनको काम आजको आजै गर्न थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालय समय र साँझ नपरुञ्जेल अतिरिक्त समय जिप्रकाले सबै प्रकारका सेवा प्रवाह गरिरहेको बताउनुभयो । आजको आजै काम सम्पन्न हुँदा होटल तथा लजका खर्च जोगिएको सेवाग्राहीले जनाएका छन् ।

यसैबीच सरकारी सम्पत्ति संरक्षणका लागि अलपत्र परेका सरकारी भवन सदुपयोग गर्न थालिएको छ । स्थानीय तह गठनपछि जिल्लास्तरबाट स्थानान्तरण भई खाली भएका धुञ्चेस्थित साविकका पशुसेवा, खानेपानी, भूसंरक्षण र महिला विकास कार्यालय भवन संरक्षण एवं उपयोग गराउन जिप्रकाले गृहकार्य अगाडि बढाएको हो ।

खाली भवनमध्ये सशस्त्र प्रहरी बल २० नम्बर गुल्मलाई महिला विकासको भवन उपयोग गर्न दिइएको छ । अन्य तीन भवनमा भने भाडामा बसिरहेका नापी, निर्वाचन तथा जिल्ला आर्युवेदिक स्वास्थ्य कार्यालयलाई दिइने प्रजिअ जैसीले बताउनुभयो ।

यसैगरी जिल्लास्थित अन्य सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कार्य छिटो सम्पन्न गर्न जिप्रकाले सहजीकरण गरिरहेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPoliticrasuwa
Comments (0)
Add Comment