पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना : निर्वाचन समिति बैठक जारी

२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतगणनाको तयारी भइराखेको छ । निर्वाचन समिति सदस्य अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार अहिले बैठक चलिरहेको छ ।

पार्टीका नेतासहितको बैठक जारी रहेको र बैठकले मतगणनाको प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेको श्रेष्ठको भनाइ छ ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ ।

मतगणनाको आचारसंहितालगायत विषयमा अहिले छलफल जारी छ । त्यसपछि मतगणनाको विषयमा निर्णय हुने श्रेष्ठले बताउनुभयो ।

नेपाली काँग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ । मतदान लगत्तै पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगिएको थियो ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको हो ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment