आज आबाल ब्रह्मचारी षडानन्द जयन्ति!

२२ मंसिर, काठमाडौं । मिती २०७८ साल मार्गशुक्ल पंचमी तिथी राती ३ /०९ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ हुनाले यो दिन ब्रह्मचारी षडानन्द जयन्ति भएकोले षडानन्द अधिकारी प्रसिद्ध नाम बालागुरु षडानन्द नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति थिए। पूर्वी नेपालको भोजपुर जिल्लामा संस्कृत पाठशाला स्थापना गर्ने कार्यका लागि उनी प्रसिद्ध छन्।षडानन्द अधिकारीको जन्म विक्रम सम्वत १८९२ साल मार्ग शुक्ल पञ्चमीका दिन नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो।यिनका पिताको नाम लक्ष्मी नारायण अधिकारी तथा माताको नाम रुक्मिणी हो । दैवसंयोग उनी जन्मदै गर्भे टुहुरो बनी जन्मिएर दाजुभाइको रेखदेखमा र आमाका काखमा हुर्किएका देखिन्छन् ।षडानन्द उनका मातापिताका कान्छा सन्तान हुन्।गर्भमा हुँदै पिताको स्वर्गवास भएको हुँदा यिनले आफ्ना पिताको लाडप्यार पाउन सकेनन् । मूलत: यिनको बाल्यकाल आमाको काखमा नै बित्यो ।यिनको न्वारानको नाम षडानन हो। चल्तीमा षडानन्द रहेको छ। बाल्य कालमा यिनलाई खडु पनि भनिन्थ्यो भने पछि आएर आबाल ब्रह्मचारी, ब्रह्मचारी र गुरु षडानन्द भनियो ।तथापि यिनका सान्निध्यका शिष्य र भक्तहरु बाला गुरु एवम् गुरु महाराज भन्न रुचाउँथे। ‘ष’लाई ‘ख’ भन्ने चलन भएकाले षडानन्दलाई खडानन्द भन्दथे ।खडानन्दलाई माया गरेर छोटकरीमा बोलाउँदा ‘खडु’ भएको हो।षडानन्द बाल्यकालमा सुनेको कुरा आफू गुरु बनेर अरूलाई सुनाउँथे रे। बालक कालमा नै उनले गुरु बनेर पढाएको हुँदा स्थानीय व्यक्तिहरुले उनलाई बाला गुरु भन्दा भन्दै यो नाम प्रसिद्‍ध भएको हो। उनी बालक कालदेखि नै आजीवन ब्रह्मचर्यमा रहेका हुनाले आबाल ब्रह्मचारी नामले चिनिए ।त्यसैगरी ठुला गुरुलाई सम्मान जनाउन गुरु शब्दका अगाडि महाराज शब्द जोडेर भन्ने चलन थियो। तत्कालीन शासक राणाजीहरुले पनि मानेका उनी त्यस समयका ठुला गुरु थिए। त्यसैले उनलाई गुरु महाराज भनिन्थ्यो।अहिले पनि धेरै मानिसहरु उनलाई बाला गुरु र गुरु महाराज नामले नै बढी चिन्दछन्।यिनको आठ वर्षको उमेरमा यज्ञोपवीत संस्कार भयो। यज्ञोपवीत संस्कार भएपछि यिनी घरबार छोडी विद्याध्ययनका लागि जनकपुरतिर लागेका हुन् भनिन्छ ।यति सानै उमेरमा कुन प्रेरणाबाट घर छोडे भन्ने सम्बन्धमा विभिन्न भनाइहरू आएकाछन्, तापनि एउटा कारण विश्वसनीय देखिन्छ ।हाम्रो वैदिक परम्परा अनुसार द्विजातिको ब्रतबन्धभन्दा पहिल्यै गर्नुपर्ने चूडाकर्म, विद्यारम्भ र व्रतबन्धभन्दा पछि अध्ययन सकेर गर्नुपर्ने समावर्तन समेत सबै कर्म व्रतबन्धकै दिन गरिन्छ ।व्रतबन्धपछि देशान्तर लाने चलन छ । त्यही देशान्तर जाने समय भएपछि षडानन्द अधिकारी व्रतबन्धस्थलबाटै जनकपुरतिर लागेका हुन् भन्ने लाग्छ।

षडानन्दले सर्वप्रथम जनकपुरको ब्रह्मचर्याश्रममा बसी गुरुकुल प्रणालीमा १० वर्षसम्म विद्याध्ययन गरे।यिनले मिथिला प्रदेशका धेरै विद्वान् पण्डितहरुको सान्निध्यमा संस्कृत भाषाको राम्रो अध्ययन गर्नुका साथै संस्कृत व्याकरणको पनि गहन अध्ययन गरेको बुझिन्छ।धर्मज्ञ तथा कर्मकाण्डी विद्वान्‌हरुको सङ्गतमा गीता,ज्योतिष तथा वेदादिको अध्ययनकै क्रममा त्यहाँबाट यिनी बनारस गए। बनारसमा यिनले मुमुक्षु भवनमा बसेर पढेका हुन्,भनिन्छ।त्यहाँ आफ्नो अध्ययनलाई अझ गहन रूपमा अगाडि बढाए।आजीवन ब्रह्मचर्यमा रहेका षडानन्दले भारतको बनारसमा अध्ययनका साथै योग साधना समेत गरेको देखिन्छ।योग साधनाका क्रममा उनले भारतका विभिन्न स्थानको भ्रमण गरेका थिए। षडानन्दका त्यस वेलाका शिष्यहरुको भनाइ अनुसार उनले चौबिस पटक गायत्री पुरश्चरण गरेका थिए।यसै क्रममा यिनले बाग्मती नदी किनारको पत्थर घट्‍टामा बसी तपस्या गरेका थिए भनिन्छ। त्यस्तै देवघाट हुँदै केही वर्ष सेती किनार, पोखरामा बसेर पनि अष्टाङ्ग योग साधना गरेको चर्चा सुनिन्छ।यिनी एउटै थलामा तिन वर्षसम्म बसेर अनेकन कष्टप्रद साधना तथा तपश्चर्या गर्थे भन्ने भनाइ छ। यिनी पट्‍टल बाँधेर योग साधनामा रहँदा भुँइबाट एक हातमाथि आकाशमा समेत उठ्तथे भनिन्छ।यिनी आफ्नो अध्ययन पुरा गरी योग साधकका रूपमा स्थापित भएपछि मातृभूमिका लागि केही गर्न विक्रम सम्वत १९३१ मा आफ्नो जन्मस्थल दिङ्ला फर्केको देखिन्छ ।बाला गुरु षडानन्दले विक्रम सम्वत १९३२ चैत्र शुक्ल राम नवमी, सोमवारको शुभ साइतमा दिङ्ला, भन्ज्याङको रमणीय उच्च स्थल कैलासमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरे। प्रारम्भका वर्षहरुमा आफैले अध्यापन कार्य सञ्चालन गरेका थिए।

जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो भनिन्छ ।यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा असम(आसाम) समेतका विद्यार्थीहरु आई अध्ययन गर्दथे।यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको अध्ययन अध्यापनका लागि छुट्‍टा छुट्‍टै कक्षाकोठाको व्यवस्था गरिएको थियो। त्यसै गरी विद्यार्थी र शिक्षकहरुको अध्ययनका लागि पुस्तकालयको व्यवस्था समेत गरिएको थियो।अद्यापि केही दुर्लभ ग्रन्थहरु त्यहाँ सुरक्षित रहेका छन्।उनले गुठीको व्यवस्था ,विद्दालय स्थानान्तरण,बगैंचा निर्माण ,पाटी ,धारा ,कुण्ड ,पोखरी र बाटो निर्माण ,टुँडिखेल निर्माण ,सामुदायिक बनको व्यवस्था ,मेला व्यापार ,समाज सुधार तथा सबै जातजातिसँगको सहयात्रा,फजुल खर्च नियन्त्रण र सदाचार शिक्षाआदि उल्लेखनीय कार्य गरेको हुनाले आबाल ब्रह्मचारी षडानन्दले राजयोग, हठयोग आदि अष्टाङ्ग योग साधनाका साथै चौबिसपल्ट गायत्री पुरश्चरण (विधिपूर्वक चौबिस लाख पटक गरिएको गायत्री मन्त्रको जपलाई एक पुरश्चरण भनिन्छ) गरी अष्टसिद्धि तथा गायत्री साधना समेत गरेका थिए।
षडानन्द उच्च तहसम्मको विद्याध्ययन, अष्टाङ्ग योग साधना र गायत्री उपासनाबाट प्राप्त सिद्‍धि र क्षमताबाट भारतीय विद्वद् समाजमा भलीभाँती परिचित थिए।उनको योग्यताको कदर गर्न वाराणसीको विद्वद् गणले उनलाई श्री १०८ उपाधिले सम्मानित गरेको थियो। यिनका विषयमा अनेकन् किंवदन्तीहरु छन्।यिनी आज काठमाडौँमा थिए भने भोलिपल्ट दिङ्लामा हुन्थे, भनिन्छ।
। त्यस्तै अरुण नदीमा रुमाल बिछ्याएर नदी पार गर्थे पनि भनिन्छ।
कतिपय त यिनको गायत्री जप गर्ने कोठामा गायत्री मातासँग साक्षात् वार्ता भएको हामीले पनि सुनेका थियौं भन्ने पनि थिए रे ! त्यस्तै यिनले जीवनको उत्तरार्धमा साधना गरेको र देहावसान भएको काठमाडौँ, टेकुको पचली घाटमा बर्खे भेल आएको वाग्मती नदीमा खराउ लगाएर पानीमाथि हिँड्दै वारपार गर्थे भन्ने पनि विश्वास गरिन्छ।
यिनी योग साधनारत रहेरै दिवङ्गत हुनु, त्यतिखेरको समयमा राष्ट्रले पनि गर्न नसक्ने समाज सुधार तथा शिक्षा केन्द्र स्थापनाका लागि विशाल निर्माण कार्य गरिनुले उनमा विशिष्ट सिद्धि थियो भन्नुमा दुई मत रहँदैन।

यिनको ख्याति तथा सिद्धिबाट तत्कालीन शासकहरु पनि भलिभाँती परिचित थिए । तत्कालिक शासकहरु पनि सिद्ध पुरुष षडानन्दका भक्त थिए । त्यसैले षडानन्दले भने गरेका समाजिक कार्यमा तत्कालीन शासकबाट लाल मोहर गरी दिएको देखिन्छ। उनले आफूले स्थापना गरेको गुठीको लाल मोहर विक्रम सम्वत १९३५ सालमा नै गराएका थिए। यति मात्र होइन, राणा शासकहरु आबाल ब्रह्मचारी षडानन्दको अनुसरण गर्नु आफ्नो धर्म ठान्दथे। त्यसैले विक्रम सम्वत १९३४ सालमा दिङ्लाकै जस्तो संस्कृत पाठशाला काठमाडौँमा खुल्यो। यसरी नै राज्यबाट सती प्रथा र दास प्रथा उन्मूलन गर्ने सरकारी घोषणा पनि भयो।

आबाल ब्रह्मचारी षडानन्दले वाराणसीको मुमुक्षु भवनमा गुरु सँग विशेष शिक्षा एवं दीक्षा लिएका थिए। वाराणसीमा उनको ठुलो प्रभाव थियो। त्यसैले त्यहाँको तत्कालीन विद्वद् समाजले सिद्‍ध जोगीहरूलाई सम्मान गर्ने परम्परा अनुसार षडानन्दलाई श्री १०८ को उपाधिले सम्मान गरेको थियो,भनिन्छ।
हावसान सम्पादन विक्रम सम्वत १९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उनी काठाडौं, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किए र विक्रम सम्वत १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै ब्रह्मलीन भए।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

Bal MakundabusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPandit Bal Makunda DevkotaPolitictechnology
Comments (0)
Add Comment