नेपालमा दुईजनामा ओमिक्रोन संक्रमण पुष्टिः मास्क प्रयोग गर्न र भिडमा नजान विज्ञको सुझाव

२१ मंसिर, काठमाडौं । नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी गत मंसिर ७ गते परीक्षण गरिएका ६६ वर्षीय अफ्रिकी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय एक व्यक्तिमा यो भेरिएन्टको संक्रमण पुष्टि गरेको हो। कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरू दुवैको नमुना लिई राष्ट्रिय प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको हो।

अफ्रिकन नागरिक हवाई नाका हुँदै नेपाल प्रवेश गरेका थिए। प्रवेशका क्रममा उनको पिसिआर रिपोर्ट नेगेटिभ र पूरा डोज खोप लगाएको पाइएको थियो। उनीहरू दुवैलाई आइसोलेसनमा राखी उपचार गरिएको छ भने कुनै पनि गम्भीर समस्या नरहेको मन्त्रालयले जनाएको छ।

उनीहरूको सम्पर्कमा आएका व्यक्तिको

कन्ट्याक्ट टेसिङ गरिएकोमा सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले बताए।

३५ देशमा फैलिसकेको यो भेरिएन्ट विश्वभरिमा ५ सय ७४ जनामा पुष्टि भइसकेको छ।ओमिक्रोन पहिलो पटक यही नोभेम्बर २४ मा अफ्रिकामा पुष्टि भएको थियो। विश्व स्वास्थ्य संगठनले यो भेरिएन्टबाट दक्षिण एसिया बढी प्रभावित हुने आकलन गरेको छ।

यो भाइरसको थप संक्रमण र प्रभावबाट आम नागरिकलाई बचाउन सरकारले उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हवाईनाका तथा स्थलगत नाकामा परीक्षण, यात्रुको आवतजावतलाई व्यवस्थित गर्ने, शंकास्पद यात्रुको एन्टिजेन परीक्षण गर्ने, शंकास्पद नमुनाको जिन सिक्वेन्सिङ गर्नेलगायतको काम भइरहेको छ।

ओमिक्रोन कति खतरनाक?

ओमिक्रोन भेरिएन्ट फैलिएका देशका नागरिकमा गम्भीर समस्या नदेखिए पनि यो भाइरस संक्रमणले खोप लगाएका र नलगाएका दुवैमा सामान्य लक्षण देखिएको,सर्ने दर भने बढी भएकाले त्रसित नहुन तर सचेत रहन विज्ञहरूको सुझाव छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा.शेरबहादुर पुनले ओमिक्रोन संक्रमण भएका बिरामीमा गम्भीर समस्या नदेखिएको तर सर्ने दर बढी भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गरेर बच्नुपर्ने बताए।

जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ का प्रमुख डा. श्रवणकुमार मिश्र भन्छन्, ‘खोप लगाएका र नलगाएका दुवैमा यसको संक्रमण देखिएको छ। विस्तृत अध्ययन हुनुअघि सचेत रहनुपर्छ।’ यो भेरिएन्ट कति खतरनाक छ भनेर अहिले नै भन्न नसकिने उनले बताए।

अफ्रिकी तथा अन्य देशमा यो भेरिएन्टको अहिलेसम्म कडा असर नदेखिए पनि बालबालिका, वृद्धवृद्धा तथा अन्य उमेर समूहमा कस्तो असर देखिन्छ भन्ने विषयमा हरेक देशले अध्ययन गर्न आवश्यक भएको उनले बताए। ‘युरोपमा असर नगरेपछि एसियासम्म आइपुग्दा यसको असर कति पर्छ भनेर हेरिनुपर्छ’, डा. मिश्रले भने।

एसियाली राष्ट्रमा यसले कति असर पार्छ भन्ने थाहा पाउन भेरिएन्टको न्युट्रलाइजेसन परीक्षण हुनुपर्छ। यस विषयमा भारतको नेसनल युनिट अफ पुनेमा अध्ययन भइरहेको छ।

यो अध्ययनपछि दक्षिण एसियामा यो भेरियन्टले पार्न सक्ने असरबारे विस्तृत विवरण आउने डा. मिश्रको भनाइ छ। अहिलेसम्म लगाइएका खोपले यो भेरिएन्टविरुद्ध काम गर्छन् कि गर्दैनन् भन्ने पनि यो अध्ययनबाट थाहा हुने उनले बताए।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthLockdownnepalNewsOmicornPolitictechnology
Comments (0)
Add Comment