आजको खेलकुद गतिविधी

१७ मंसिर, काठमाडौं ।

नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन : सदस्य–सचिव


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।


‘नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी राख्दिन । हरदम त्यसैमा प्रयासरत रहने छु । रग्वीलाई पनि शुन्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भए । त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढछु ।’– सदस्य–सचिव घिसिङले भने ।


उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे ।


‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहि कदापी होइन ।’– उनले भने ।


उनले खेलाडी छनोट निष्पक्ष र पारदर्शी नहुन्जेल जति लगानी गरेपनि बालुवामा पानी हाले जस्तो मात्र हुने बताउदै यसमा सम्बन्धित संघ र प्रशिक्षकहरुले विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले प्रशिक्षकहरुलाई समय सापेक्ष परिस्कृत र स्तरबृद्धि गर्न रिफ्रेस कोर्स अत्ति आवश्यक भएको बताउदै त्यसका लागि विदेशी प्रशिक्षक झिकाएर वा प्रशिक्षकलाई विदेशमा पठाएर हुन्छ आवश्यक कदम चालिने बताए ।
उनले नतिजा मात्र खोज्नु भन्दा पनि कसरी राम्रो नतिजा आउछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेकोमा जोड दिए । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका सदस्य–सचिव घिसिङले सरोकारवालसंग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह÷सुझावलाई आत्सात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।


उक्त अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहालले विगतमा बृहत राष्ट्रिय खेलकुदमा समावेश भएका खेललाई लक्षित गरी नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक संख्यालगायतका बारे अनुमानित खाका प्रस्तुत गरेका थिए ।


मुख्य प्रशिक्षकहरुले खेल सामाग्री, पूर्वाधार, खेलाडीको प्रशिक्षणलगायतका अवस्था बारे सदस्य–सचिव घिसिङलाई अवगत गराएका थिए ।

सदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षण


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् ।
सुरुमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको प्रशासनिक भवनको निरीक्षण गरेका सदस्य–सचिव घिसिङ त्यसपछि अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेका पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो गएका थिए । पूर्वाधारको निरीक्षण गर्नुअघि सदस्य–सचिव घिसिङ तालिम तथा प्रशिक्षण विभागले सातदोबाटौमै आयोजना गरेको विभिन्न २२ खेलका मुख्य प्रशिक्षकहरुसंगको छलफल कार्यक्रममा सहभागी भए ।
त्यसपछि सदस्य–सचिव घिसिङले परिसर हातामा रहेका सुटिङ रेन्ज, फिट्नेस सेन्टर, पौडी पोखरी, बक्सिङको प्रशिक्षण स्थल र कराते हलको निरीक्षण गरेका थिए ।

बास्केटबलमा २० टिम


ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक संघका महासचिव शरद विष्टले जनाएका छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरसकृत गरिने छ ।
नेपाल बास्केटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुने छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल शनिबार हुने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment