उपचार गर्न जिल्लाबाहिर जानुपर्र्ने बाध्यता ट¥यो

१५ मंसिर, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै विशिष्टीकृत स्वास्थ्य सेवा लिन थालेका छन् ।

गाउँपालिकाले स्थानीयवासीको उपचार सेवाका लागि चिकित्सकसहित अत्याधुनिक एक्स–रे सेवा दिएको छ । गाउँपालिकाले एकजना एमबिबिएस चिकित्सक नियुक्त गरी विशेषज्ञ सेवा दिन थालेको छ । डिआर सिस्टमको एक्स–रे सेवा उपलब्ध गराउनाका साथै गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकी नुवागाउँ र नेर्पामा प्रयोगशाला सेवासमेत सञ्चालनमा ल्याएको छ ।

“गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले स्थानीयवासी निकै खुसी भएका छन्”, स्थानीयवासी रेखा नेपालीले भन्नुभयो । सामान्य एक्स–रे र प्रयोगशाला सेवाका लागि पनि दाङलगायत जिल्लाबाहिर जानुपर्ने समस्या टरेको नेपालीले बताउनुभयो । आफ्नै घरआँगनबाट यो सुविधा पाउँदा समय र पैसाकोसमेत बचत भएको नेपालीले बताउनुभयो । गाउँपालिकाले उपलब्ध गराएको यो सुविधासँगै स्थानीयवासीले घरकै आटोपीठो खाएर उपचार गर्न पाएको नेपालीको भनाइ छ ।

स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा सुविधा वृद्धि तथा क्षमता विकासमा समेत गाउँपालिकाले लगानी गरेको छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा अझै गुणस्तरीय र भरपर्दो बनाउन उनीहरुको सेवासुविधा पनि थप गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नेपाल सरकारले उपलब्ध गराउँदै आएको भत्तामा वार्षिक रु १२ हजार थप गरेको छ ।

साथै गाउँपालिकले घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने लक्ष्यसहित काम गरेको छ । घरमा हुने प्रसूतिलाई निरुत्साहत गर्न र संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्न स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने आमाहरुलाई यातायातस्वरुप नेपाल सरकारले उपलब्ध गराएको भत्तामा रु एक हजार थप गरेको गाउँपालिको भनाइ छ ।

महिला स्वास्थ्य स्वयम्सेविकालाई उपलब्ध गराएको प्रोत्साहन र संस्थागत सुत्केरीमा गरिएको प्रोत्साहनले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको गाउँपालिकाको स्वास्थ्य शाखाको भनाइ छ । गाउँपालिकामा आर्थिक वर्ष २०७६÷७७ मा संस्थागत सुत्केरी सङ्ख्या ४५.४ प्रतिशत मात्रै रहेकामा आर्थिक वर्ष २०७७÷७८ मा यो सङ्ख्या बढेर ५६ प्रतिशत पुगेको थियो । साथै गर्भ जाँच गर्नेहरुको सङ्ख्या आर्थिक वर्ष २०७६÷७७ मा ४६.७ प्रतिशत रहेकामा आर्थिक वर्ष ०७७÷७८ मा यो सङ्ख्या बढेर ६४ प्रतिशत पुगेको थियो ।

“महिला स्वास्थ्य स्वयम्सेविकालाई उपलब्ध गराएको प्रोत्साहन भत्ता र स्वास्थ्य संस्थामा प्रसूति गर्न आउनेलाई दिइने थप यातायात सुविधाले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको छ”, गाउँपालिकाका स्वास्थ्य संयोजक पूर्ण बुढाले भन्नुभयो ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsRolpa
Comments (0)
Add Comment