मुख्यमन्त्री – प्रधानसेनापति भेट

१३ मंसिर, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानसेनापति प्रभुराम शर्माका बीच आइतबार भेटवार्ता सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमै भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले मुलुकका हितमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । कोरोनाकाल, प्राकृतिक विपत्तिका समय नेपाली सेना अग्रपङ्क्तिमा खटिएको जनाउँदै उहाँले सीमित स्रोत र साधनका बीच सेनाले नागरिकका सेवामा खटिएको स्मरण गर्नुभएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति शर्माले सेना राष्ट्रहित , विकास निर्माणका साथै मुलुकलाई चाहिएका खण्डमा हरदम सेवामा तत्पर रहेको बताउनुभयो ।

उहाँले आफूले जिम्मेवारी लिएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको जानकारी दिनुभयो । विपत्तिका समयमा सहरमा खाली स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमिन बचाइराख्नुपर्ने उहाँको सुझाव छ । आइतबार मनाङ हुँदै पोखरा आउनुभएका उहाँले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गर्नुभएको थियो ।

उक्त अवसरमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकार र सुरक्षा निकायबीचको सम्बन्धका बारेमा जानकारी गराउनुभयो । भेटमा बिना विभागीयमन्त्री डोबाटे विक, प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली सेना पश्चिम कमान्ड प्रमुख उपरथी बाबुराम श्रेष्ठलगायतको उपस्थिति थियो ।



मल्टिमिडिया ग्यालरी

Coronavirusdigital khabarGandaki PradeshnepalNewsPokharaPolitic
Comments (0)
Add Comment