पाकिस्तान सेमिफाइनलमा प्रवेश

१७ कात्तिक, काठमाडौं । पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।

कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो ।

शेख जायद क्रिकेट स्टेडियममा नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै क्रिग विलियम्सले ४० रन बनाउँदा स्टेफन बार्डले २९ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका लागि हशन अली, इमाद असिम, हरिस राउफ र सादाब खानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

पाकिस्तानका लागि बाबरले ७० रनको अर्धशतकीय पारी खेले । ४९ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै ४९ बल खेलेका रिजवानले ८ चौका र ४ छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय पारी खेले । मोहम्द हाफिजले ३२ रन बनाए ।

बलिङतर्फ नामिबियाका लागि डेभिड विस र जान फ्रिलिङ्क्सले समान एक–एक विकेट लिए ।

जितसँगै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’मा रहेको पाकिस्तानले ४ खेलमा ८ अङ्क जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ ।

यता नामिबियाले ३ खेलबाट २ अंक जोडेको छ । नामिबियाको सेमिफाइनल सम्भावना अझै बाँकी छ । यसै समूहमा रहेको अफगानिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarLockdownPolitictechnology
Comments (0)
Add Comment