मृतकका परिवारलाई एक लाख ५० हजार प्रदान

०९ कात्तिक, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु एक लाख ५० हजार प्रदान गरेको छ । शिवनाथ–६ बसेडीका भानु , देवानी र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत प्रदान गरेको हो । एका घरका उनीहरुको यही कात्तिक २ गते पहिरामा पुरिएर मुत्यु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष कर्ण साउँद र उपाध्यक्ष कुस्मा चन्दलगायतको टोलीले पीडितको घरमै पुगेर आज सो रकम हस्तान्तरण गरेको हो । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएबमोजिम राहत प्रदान गरिएको जनाइएको छ । गाउँपालिकाका तर्फबाट जनही ५० हजारका दरले नगद प्रदान गरिएको र खाद्यान्न सामग्री पनि वितरण गरिएको हो । पहिराले घर लगेपछि आफन्तको घरमा आश्रय लिएर बसिरहेका पीडित परिवारलाई एक क्विन्टल चामल, १० किलो दाल, चार किलो नुन पनि गाउँपालिकाले वितरण गरेको हो ।

पहिरोपीडित उचित बसोबासका लागि पनि पालिकाले पहल गर्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताउनुभयो । गाउँपालिकाले तत्काल राहत कार्यविधिअनुसार पहिरामा पुरिएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको र अन्य ठाउँको पनि क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ । गाउँपालिका अध्यक्ष साउँदले भन्नुभयो, “गाउँपालिकाका सबै ठाउँमा पहिराले क्षति पु¥याएको छ, हामी स्थलगत रुपमै अनुगमन निरीक्षण गर्दैछौँ ।”

स्थलगत रुपमा निरीक्षण र तथ्याङ्क सङ्कलनको काम भइरहेको र तथ्याङ्क सङ्कलन पछि पीडित परिवारलाई पालिकाका तर्फबाट उचित राहत दिने गाउँपालिकाले जनाएको छ । शिवनाथ गाउँपालिकामा हालसम्म सात घरमा पूर्ण रुपमा क्षति पुगेको बताइएको छ ।

यसअघि शिवनाथमा पहिराबाट मृत्यु भएका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले पनि राहतस्वरुप एक लाख २० हजार किरिया खर्च उपलब्ध गराएको थियो । सङ्घीय सरकारले दिने राहत रकमबाट कट्टा गर्ने गरी उनीहरुलाई शनिबार घरमै पुगेर किरिया खर्च उपलब्ध गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण चारजनाको मृत्यु भएको छ भने करोडौँको धनमालको क्षति भएको छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathdigital khabarhealthmoneyNepali NewsRain
Comments (0)
Add Comment