कृष्ण र दीपकको जोडी अब्बल

२७ असोज, काठमाडौं । कृष्ण खतिवडा र दीपक लामाको जोडी कागेश्वरी मनोहरा वडा नं. ६ स्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा मंगलबार पहिलो भएका छन् ।


कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ कार्यालयको आयोजना तथा घनमंगल युथ फोरम सोसाइटीको सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा कृष्ण र दीपकको जोडीले विश्वनाथ खनाल र ध्रुव खड्काको जोडीलाई २१–१५ र २१–१५ को सोझो सेटमा पराजित गरे । देविन्द्र राई र रमेश तामाङको जोडी तेश्रो भए ।


शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुररस्कार हात पारे । भेट्रान डबल्समा रमेश खनाल र विनोद थापाको जोडी च्याम्पियन बने ।


कृष्ण खतिवडा उत्कृष्ट खेलाडी घोषित भए भने देविन्द्र राईले उदीयमान खेलाडीको उपाधि चुमे । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, वडा ७ का अध्यक्ष जीवन थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असोज २१ गतेदेखि सुरु प्रतियोगितामा १८ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

पदक विजेता सम्मानित

जर्मनीमा भएको चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई नेपाल गोजुरियो कराते डो संघले मंगलबार सम्मान गरेको छ ।


अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले ४ स्वर्ण र २ कांस्य जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।


मन्डेकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहको एकल कातामा गरी २ स्वर्ण जिते । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् । मुकुन्द्र महर्जनले कुमुतेको ३० वर्षमाथि स्वर्ण तथा ७५ केजीमा कांस्य हात पारेका थिए । मुकुन्द्र १३ औं सागका कांस्य विजेता हुन् ।

सुमन तिमल्सिनाले एकल कातातर्फ आफ्नो उमेरसमूहमा स्वर्ण तथा सिनियरमा कांस्य प्राप्त गरेका थिए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल गोजुरियो कराते डो संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा नेपाली टोलीका अफिसियल स्वच्छम गुरुङ पनि प्रशंसा पत्रबाट सम्मानित भए । पदक विजेता तीनै खेलाडीलाई प्रोत्साहन स्वरुप ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment