आजको खेलकुद गतिविधी

२३ असोज, काठमाडौं ।

अकीलाई स्वर्ण


अकी जुवेन रावतले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।
धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भएको फाइनलमा अकीले आर्यन गिरीलाई ६–३ र ६–२ को सोझो सेटमा परजित गरे । सोही स्पर्धाको गल्र्सको उपाधि भिडन्तमा सर्वानी श्रेष्ठले सुनिरा थापालाई ६–४ र ७–५ को सीधा सेटमा हराइन् ।
यु–१४ ब्वाइज सिंगल्स फाइनलमा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–४ र ६–० को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारे । उक्त स्पर्धाको गल्र्समा सुनिरा थापाले आध्या पौडेललाई २–० को सोझो सेटमा पन्छाइन् ।
डबल्सको ब्वाइजमा अकी जुवेन रावत र निहालजंग थापाको जोडी तथा गल्र्समा इशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले पहिलो स्थान हात पारे ।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

जुडो खेलाडी छनोट


एसियन÷ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट शनिबार भएका छन् । नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिए । चारै खेलाडी बन्दी सहायता गृह (पाम) का खेलाडी हुन् । च्याम्पियनसिप लेबननमा डिसेम्बर २ देखि ५ तारिखसम्म सञ्चालन हुने छ ।

मन्डे र मुकुन्द्र फर्किए


जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन शनिबार स्वदेश फर्किएका छन् ।
अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा मन्डेले दोहोरो स्वर्ण पदक जितेका थिए । मुकुन्द्रले १ स्वर्ण र १ कांस्य हात पारेका थिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी सुमन तिमल्सिना यसअघिनै स्वदेश फर्किसकेका छन् । सुमनले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए ।

श्रेष्ठलाई हिरोज अवार्ड


इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) ले आफ्ना अध्यक्ष घनश्याम श्रेष्ठलाई शनिबार हिरोज अवार्डबाट सम्मान गरेको छ ।
पेप्सीकोलास्थित स्टार बैंक्युटमा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सानुराजा महर्जनले श्रेष्ठलाई अवार्ड स्वरुप ट्रफी प्रदान गरे । क्योकुसिन करातेको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरे वापत श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो ।
श्रेष्ठ २०४४ सालदेखि क्योकुसिन करातेमा खेलाडीका रुपमा प्रवेश गरेका थिए । राष्ट्रिय खेलाडी श्रेष्ठ प्रशिक्षकको भूमिकामा पनि सक्रिय रहेको ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment