सर्तसहित उद्योगलाई थप विद्युत्

२३ असाेज, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी खपत हुने साँझ र बिहानको समयमा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

मुलुकभित्र उत्पादित विद्युत् वर्षायाममा खेर जाने अवस्था आएपछि प्राधिकरणले अल्पकालीन योजनाअन्तर्गत साँझ र बिहानको समयमा प्रसारण तथा वितरण लाइन ओभर लोड भएमा नचलाउने सर्त राखी उद्योगहरूलाई विद्युत् उपलब्ध गराउने जनाएको हो । प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परे तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति लिन आग्रह गर्नुभयो । उद्योगहरूले अहिले ११ र ३३ केभीबाट विद्युत् आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युत्को महसुल सस्तो छ ।

“एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत् दिन सकिरहेका छैनौँ भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत् खेर फाल्नुपर्ने अवस्था छ”, घिसिङले भन्नुभयो, “यस्तो अवस्था अन्त्यका लागि एउटा/दुईवटा टान्सफर्मर, पोल, कन्डक्टरजस्ता उपकरण थपेर मात्रै हुँदैन; प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदै छौँ । ”

उहाँले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत् खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताउनुभयो । “हाम्रो दैनिक माग दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व–पश्चिम विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ”, उहाँले भन्नुभयो । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरू पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने घिसिङको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebookhealthnepalNewsPolitictechnology
Comments (0)
Add Comment