बुद्धभुमिको आईपीओको बाँडफाँड, ७४ हजार ४०० जनाले पाए १० कित्ता

२२ असाेज, काठमाडाैँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओको बाँडफाँड भएको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन गरेका १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आइपीओमा २० लाख ३० हजार ५५५ वटा आवेदन परेको थियो । उल्लेखित संख्याको आवेदनबाट सर्वसाधारणबाट माग भएको कित्ताभन्दा ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर खरिदको माग परेको थियो । जसमध्ये १६ हजार ३३ वटा संख्याबाट परेको १ लाख ९८ हजार ४४० कित्ताको आवेदन रद्द भएको छ भने २० लाख १४ हजार ९२२ वटा संख्याबाट परेको २ करोड ४२ लाख १ हजार ९३० कित्ताको माग सदर भएको सिभिल क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८० करोड रुपैयाँ रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabariponepalNews
Comments (0)
Add Comment