संस्कृतिविद् प्रकाशमान ‘सक्व’ कमलबहादुर विष्ट स्मृति पुरस्कारबाट सम्मानित

२० असाेज, काठमाडौँ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको साँखु क्षेत्रका सम्पदाको अध्ययन अनुसन्धानमा लाग्नुभएका संस्कृतिविद् प्रकाशमान श्रेष्ठ ‘सक्व’ लाई सम्मान गरिएको छ ।

साँखु, मणिचूड, बज्रयोगिनी, सालिनदी स्वस्थानी व्रत एवं स्थानीय जात्रा, पर्व, शिलापत्र, ताडपत्र एवं ऐतिहासिक कागजपत्रको खोज, अनुसन्धानमा दशकौँ बिताउनुभएका श्रेष्ठलाई रु १५ हजार राशिको कमलबहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिएको हो । उहाँलाई पुरस्कार कोषका संरक्षक मिश्रीमैया विष्ट, अध्यक्ष राजु विष्ट, सचिव दिनेश विष्ट र कोषाध्यक्ष शिवराम विष्टले नगदसहित सम्मानपत्र तथा दोसल्लाले सम्मानित गर्नुभएको हो ।

संस्कृतिविद् श्रेष्ठले यस क्षेत्रका सम्पदा एवं मूर्त, अमूर्त संस्कृतिका बारेमा राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाबाट सयौँ लेख रचना प्रकाशित भइसकेका छन् । अहिले पनि उहाँ यस क्षेत्रको सम्पदाका बारेमा कलम चलाउँदै आउनुभएको छ । स्थानीय जात्रा पर्वको चिनारी तथा साहित्य सेवा, पुस्तक लेखन प्रकाशनसहित शिक्षण सेवामा समेत उहाँ समर्पित हुनुहुन्छ ।

शङ्खरापुर–७ साँखु साल्खा टोलमा विसं २०११ फागुन ७ गते जन्मनुभएका श्रेष्ठ शिक्षण सेवाबाट निवृत्त हुनुभएपछि साँखु क्षेत्रको सांस्कृतिक अध्ययन अनुसन्धानमा पूरा समय बिताउँदै आउनुभएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment