जग्गा विवादले हुलाकी सडक निर्माणमा असर

१७ असाेज, लहान । जग्गा विवादका कारण राष्ट्रिय गौरव आयोजनामध्ये निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरी खण्डको काम रोकिएको छ । जग्गा विवादलाई लिएर स्थानीयवासीले अदालतमा दायर गरेको मुद्दाका कारण सप्तरीको ठाउँठाउँमा सडक निर्माणको काम रोकिएकोे हो । पूर्व सदरमुकाम राजविराजदेखि पश्चिम बलान खोलासम्मको कूल २५ किलो सडकमध्ये पश्चिम बलान खोलादेखि जमुनी चोकसम्म करिब १८ किलोमिटर सडकमा कालोपत्र भए पनि बाँकी करिब सात किलोमिटर सडक जग्गा विवादका कारण अघि बढाउन नसकिएको रौता श्रेष्ठ डिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले बताउनुभयो ।

बोदे बर्साइन बजारको शत्रुधन चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र भइसकेको छ तर जग्गा अधिग्रहण विवादले इलाका प्रहरी कार्यालय पूर्व र शत्रुघन चौकदेखि पश्चिम बीचको करिब ३०० मिटर सडक निर्माण अझै गरिएकोे छैन । बोदे बर्साइन नगरपािलका– ५ बजारको उक्त सडकमा कब्रिरस्तानको पर्खाल परेको र सो पर्खाल भत्काउन नमानेका कारण निर्माण अवरुद्ध भएको हो । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले चासो नदेखाउँदा पनि समस्या समाधान हुन नसकेको स्थानीय बजारवासी भनाइ थियो ।

कब्रिस्तानको करिब डेढमिटर पर्खाल सडकको मापदण्डमा परे पनि भत्काउन नमान्दा त्यस खण्डमा निर्माण नगरिएको निर्माण व्यवसायी देवेन्द्र दहालले जानकारी दिनुभयो । जग्गासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको अवस्थामा जग्गा अधिग्रहण गर्न स्थानीय तह नगरपालिका र वार्ड कार्यालयले पहल नगरेका कारण समस्या यथावत् रहेको उहाँले बताउनुभयो ।

यस्तै बोदे बसाईन नगरपालिकास्थित कुशमहार चोकमा पनि जग्गा विवादलाई लिएर अदालतमा मुद्दा दायर गरिएकाले त्यहाँ पनि काम रोकिएको छ । “ सुरुमा जग्गा विवाद नदेखिएकाले माटो र ग्राभेलको काम गरिसकेका थियौँं”, कन्ट्याक्ट म्यानेजर यादवले भन्नुभयो,“ पछि स्थानीयवासीले विवाद सिर्जना गरी अदालतमा मुद्दा दायर गरेकाले काम रोकिएको हो । मुद्दा नपरेको भए अहिलेसम्म त्यहाँ पनि कालोपत्रको काम सकिने थियो । ”

यसैगरी सदरमुकाम राजविराजको खर्साल टोलदेखि राममन्दिरसम्मका विभिन्न व्यक्तिबाट अदालतमा मुद्दा परेकाले काम सम्पन्न गर्न ढिलाइ भएको उहाँले बताउनुभयो । उक्त सडक निर्माण गर्ने ठेक्केदार कम्पनी विरुद्ध उच्च अदालत राजविराज इजलाशमा फरकफरक व्यक्तिद्वारा चार वटा मुद्दा दायर गरिएको थियो ।

दायर गरिएका सबै मुद्दामा अदालतले बादीको जग्गामा तत्कालाका लागि सडक नबनाउन आदेश दिएपछि झन अन्योल बढ्को म्यानेजर यादवको भनाइ थियो । सर्खाल टोलमै रहेको माउण्ट एभरेष्ट बोर्डिङस्कुलका सञ्चालकले नाला बनाउन अवरोध गरेकाले पनि सदरमुकामभित्र सडक र नाला निर्माणमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।

उक्त कंपनीले २०७७ असार २९ गतेसम्म सकड स्तरोन्नति गरिसक्ने गरी २०७४ पुस १४ गते सम्झौता गरेको थियो । सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि छ महिना म्याद थप गरिएकामा सो म्याद २०७७ पुस २८ गते सकिएको छ । विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माणका क्रममा विभिन्न स्थानका बासिन्दाले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा दायर गरेका र समयमा पुल निर्माण नहुँदा काम अपेक्षाकृतरूपमा अघि बढाउन नसकिरहेको म्यानेजर यादवको भनाइ थियो ।

सप्तरीको बिहुँल नदी, खडक, कजरा, मुतनी, घोडदहलगायत नदीमा ११ वटा पुलको निर्माणकार्य कछुवा गतिमा भइरहँदा आवागमनमा कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो थियो । करिब छ वर्षअघि सुरु भएको मुतनी नदीको पुल निर्माण अझै पूरा हुन नसक्दा स्थानीवासी कष्टकर यात्रा गर्न बाध्य छन् ।

सो पुल अरनिको, लामा, बामती जेभी काठमाडौँले विसं २०७२-३-२५ मा सम्झौता गरी विसं २०७४-३-२४ मा निर्माण गरिसक्नुपर्ने निर्माणस्थलमा राखिएको बोर्डमा उल्लेख छ । निर्माणको म्याद सकिएको चार वर्ष भइसक्यो तर अहिलेसम्म पूरा नभएका सदरमुकाम राजविराज पुग्न ठूलै सास्ती भइरहेको डाक्नेश्वरी नगरपालिकाका गजेन्द्र मण्डलले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathhealthNepali NewsNews businessRainRoad
Comments (0)
Add Comment