‘धान पाक्यो तर भित्र्याउन पाइएन’

१५ असाेज, भजनी । असोजको महिना किसानका लागि महत्वपूर्ण महिना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धानखेती गर्नुभएको छ । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन । “धान पाकेर खेतमै झर्ला जस्तो भइसक्यो, मौसमले अझै साथ दिएको छैन, उहाँ भन्नुहुन्छ, “यसरी वर्षा भइरहने हो भने त धान भित्र्याउन निकै समस्या हुने देखिएको छ । आकाशमा बादल मडारियो भने कतै पाकेको धानबाली नष्ट गर्छ कि भन्ने त्रासले मन पनि त्यसैगरी मडारिन्छ ।

यो समयमा किसान खेतमा हुनुपर्ने भए पनि मौसमको खराबीका कारण पाकेको धान भित्र्याउन समस्या भएको छ । मौसममा सुधार नभएका कारण किसान त्रस्त छन् । जिल्लाका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ । हिउँदे खेती कम हुने भए पनि बर्खेखेती प्रायःसबै किसानले गर्ने गरेका छन् । अहिले दैनिकजसो वर्षा हुने गरेको छ । वर्षासँगैको हावाहुरीका कारण धान खेतमै ढल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने हुन थालेको छ ।

टीकापुर नगरपालिकाका रतिराम विकले पाँच बिघा जमिनमा धानखेती गर्नुभएको छ । दिनमा मौसम सफा भएपछि उहाँले केही धान काट्नुभयो तर राति परेको झरीले सबै काटेको धान भिजाउँदा अहिले धान र पराल कामै नलाग्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । दिनमा घाम लाग्छ सुक्छ । राति पानी आउँछ फेरि भिजाउँछ”, रतिराम भन्नुहुन्छ, काटेको धान खेतमै सड्ने भयो, नकाटेको झरेर सकिने भयो । मौसम सफा हुने कुनै छाँटकाँट देखिएकै छैन ।

टीकापुर नगरपालिकाका किसान धनसिंह साउँदले २६ बिघा जमिनमा धानखेती गर्नुभएको छ । लामो समयदेखि कृषिमा लाग्नुभएका साउद विगतका वर्षमा यतिबेला सबै धान भित्र्याउन सक्नुहुन्थ्यो । “खेतमा धान पाकेर कालो पर्न थालिसक्यो । दैनिकको वर्षाले कतिपय ठाउँमा धान ढलेर बिग्रिसकेको छ”, साउद भन्नुुहन्छ, यो वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुने अपेक्षा गरेका थियौँ । मौसमले साथ नदिएका कारण खेतमै धान नष्ट हुन थालेपछि चिन्ता बढेको छ ।

धनसिंहपुर कृषि सहकारी संस्थाले धानको बीउ उत्पादनका लागि ४५ हेक्टरमा बिज वृद्धिका लागि धानखेती गरेको छ । बीउको धान समयमै भित्र्याउन नपाए त्यसले भोलि राम्रो उत्पादन दिन नसक्ने भन्दै सहकारीका अध्यक्षसमेत रहनुभएका साउद एक-दुई दिनमा मौसममा सुधार नआए किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताउनुहुन्छ । “अहिले टीकापुर क्षेत्र बिज वृद्धिमा आत्मनिर्भर भइसकेको छ । बद्लिँदो मौसमले हामीलाई समयसमयमा चुनौती थप्दै आएको छ”, उहाँ भन्नुुुहुन्छ, “बीउ उत्पादनमा लगानी पनि बढी भएको हुन्छ । समयमै भित्र्याउन नसके धान कालो हुने र बीउका लागि उपयुुक्त नहुने भएकाले पनि अहिले मौसमका कारण बीउ उत्पादनमा ह्रास आउँछ कि भन्ने चिन्ता बढेको छ ।”

जानकी गाउँपालिकामा रहेको बीज वृद्धि कृषक सहकारी संस्थाले १६३ हेक्टरमा बीज वृद्धिका लागि धानखेती गरेको छ । कैलालीकै सबैभन्दा बढी बीउ उत्पादन गर्ने उक्त संस्थाका व्यवस्थापक गोविन्दराज रावल धान खेतमै बिग्रन अवस्थामा पुगेका कारण बीज वृद्धिमा समस्या आउनसक्ने बताउनुहुन्छ ।

धान खेतमै ढलेर पानीमा सड्न थालेकाले मौसमले पनि किसानलाई नै चुनौती दिएको उहाँको भनाइ छ । अहिलेको मौसमका कारणले बीज वृद्धिमा कमी आउने सङ्केत देखिएको छ । धान भित्र्याउने समय भए पनि किसान अझै खेतसम्म पुग्न सकेका छैनन् रावत भन्नुहुन्छ, “धेरै पाकेको धानलाई पनि बीउका लागि उपयुक्त मान्न सकिँदैन । समयमै धान भित्र्याउन सकिएन भने बीउका लागि रोपेको धान पनि बजारमा बिक्री गर्नुको विकल्प छैन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AgricultureBadi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthNepali NewsRainRice
Comments (0)
Add Comment