सन्दर्भ विश्व मुटु दिवस : गाउँ पस्यो मुटुरोग

१३ असाेज, चितवन । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चाउचाउ, कोकोकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ । सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन ।

स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटुरोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहनुभएका रेग्मीको भनाइ छ । सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उहाँ बताउनुहुन्छ । मुटुरोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उहाँ बताउनुहुन्छ ।

“पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्र्याक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ उहाँले भन्नुभयो, युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।” ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उहाँ बताउनुहुन्छ ।

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउनुहुन्छ । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ”, उहाँले भन्नुभयो, “रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।” रिसाहा व्यक्तिलाई धेरै समस्या अउने जनाउँदै उहाँले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

सकारात्मक सोच राख्नु मुटुका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्माेन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ । चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउनुहुन्छ । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ । मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क उद्धृत गर्दै उहाँले भन्नुभयो, “मुटुरोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्दछन् ।” विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्दछन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ ।

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्दछन् । लौडारीको भनाइमा मुटुरोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन् । नेपालमा एक लाख जनसङ्ख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । मुटुरोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन् । लौडारीका अनुसार मुटुरोगीमध्ये १६ प्रतिशतलाई हृदयघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग हुने गरेको छ । यस्तै चारदेखि १० प्रतिशत धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ ।

मुटुरोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलस्ट्रोल, २० देखि २५ प्रतिशत धुमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ । दक्षिण एशियामा मुटुरोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो ।

उहाँले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने बताउनुभयो । उहाँका अनुसार शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान सुझाव दिनुभयो । यसैगरी मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।” उहाँले समयमै सुत्न, विषादिरहित फलफूल र तरकारी खान तथा धुमपान र मध्यपान नगर्न सुझाव दिनुभयो । अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उहाँको भनाइ छ ।

विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा निलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिएमा मुटुरोग लक्षण हुन् सक्छन् । यस्तै मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखापर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ । हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रितरूपमा चल्नु र छातीमा हात राख्दा धर्केको महसुस हुने भएमा मुटुरोग लागेको हुनसक्ने विज्ञहरूको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronaviruscovid 19 updateCovid-19DeathdigitalkhabrHeartNepali NewsNewsRain
Comments (0)
Add Comment