म्याग्दीका पुरातात्विक सम्पदा ओझेलमा

०९ असाेज, गलेश्वर । म्याग्दीका ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । यहाँस्थित ३०० वर्षभन्दा पुराना देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्न थालेका हुन् ।

सदरमुकाम बेनीलगायत जिल्लाका छवटै स्थानीय तहमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै र नासिँदै गएका स्थानीयवासीले बताएका छन् । बेनीबजारस्थित तीन वटा ३०० वर्षभन्दा पुराना प्राचीन सम्पदाकाबारेमा नयाँपुस्ता अनभिज्ञ रहेको स्थानीयवासी प्रकाश श्रेष्ठले बताउनुभयो ।

बेनीस्थित कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल ३०० वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर हुन् । तर यी धरोधरको न उचित संरक्षण हुन सकेको छ, न त प्रचारप्रसार नै भएको छ ।

विसं १७५४ मा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवल पाञ्चायन शैलीमा निर्माण गरिएको छ । पुराना इँटाबाट निर्मित यी मन्दिरमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मूर्तिहरु छन् । बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको स्थानीयवासी बृद्ध अविरकुमार श्रेष्ठले बताउनुभयो ।

“बजार विस्तारसँगै घर निर्माण हुनेक्रम बढेपछि घरले बालमुक्तेश्वर मन्दिर छोपिन पुग्यो, बेनीको सभ्यताको सबैभन्दा पुरानो मन्दिरका बारेमा अहिले धेरैजसो व्यक्ति अनभिज्ञ छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार २०३७ सालमा बालमुक्तेश्वर मन्दिरको अगाडि लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिँदै गएको हो । २०३४÷०३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका– ६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिर पनि अहिले अस्तित्वविहीन बनेको छ । पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३-२०६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिएपछि जलेश्वर शिवालयको मन्दिर पनि अस्तित्वविहीन बनेको छ ।

जिल्लाका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायतका स्थानमा रहेका कैयौँ प्राचीन देवल र सम्पदा नासिँदै गएका छन् । यस्ता प्राचीन सम्पदा नासिँदै गए पनि स्थानीय तहले कुनै चासो नदेखाएको स्थानीयवासीको भनाइ छ ।

प्राचिन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियारलगायत ऐतिहासिक र पुरातात्विक महत्वका चिज हराउँदै गएका ज्यामरुककोटका हरिप्रसाद शर्माले बताउनुभयो । यस्ता पुरातात्विक महत्वका ऐतिहासिक वस्तुको संरक्षणमा पुरातात्विक विभागको पनि ध्यान जान आवश्यक रहेको भकुण्डेका ७८ वर्षीय डिलबहादुर कार्कीले बताउनुभयो ।

वडादसैँ, चैतेदसैँ, कृष्णाजन्माष्टमी, श्रीपञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ । ती ठाउँमा रहेका ढुङ्गेधारा र कुवा पनि नासिँदै गएका स्थानीयवासीले बताएका छन् । स्थानीय सरकार गठन भइसकेपछि त्यस्ता पुरातात्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र संवद्र्धनका लागि पहल सुरु गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

धार्मिक, साँस्कृतिक र पौराणिक दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेका जिल्लाका अनेकौं ऐतिहासिक सम्पदाको संरक्षणतर्फ कसैको ध्यान गएको देखिएको छैन् । जिल्लाका यस्ता पुरातात्विक, ऐतिहासिक र जीवनशैलीसँग जोडिएका यस्ता सम्पदाको सूचीकृत गरी यसको संरक्षण र प्रवद्र्धन गर्न सके समृद्ध स्थानीय तहका लागि बलियो आधार बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment