कोरोना महामारीको असर, तीजमा देखिएन उत्साह

२४ भदाै, भजनी । कैलालीको टीकापुर–१ की धना बोगटी आज बिहानै कैलाशेश्वर शिव मन्दिर पूजाका लागि पुग्नुभएको थियो ।

उहाँ विगतका वर्षजस्तै यस वर्ष पनि मन्दिरमा भीडभाड होला भनेर सबेरै मन्दिर पुग्नुभयो । तर मन्दिरमा धनाले सोचेजस्तो थिएन । “घरबाट पूजा गर्न पालो नपाइएलाकि भनेर छिट्टै आइयो । यहाँ कोही दर्शनार्थी नै रहेनछन् उहाँले भन्नुभयो, “यस वर्ष अचम्मै भएछ । गत वर्ष भन्दापनि कोरोनाको प्रभाव यसवर्ष परेको जस्तो लाग्यो ।”

श्रीकृष्ण जन्माष्टमीदेखि नै महिलाले दर खाने र रमाइलो सुरु गर्ने भए पनि यस वर्ष कतै तीजका गीत सुनिएनन् । न त बजारमा चहलपहल भयो न गाउँघरमा रातभर तीजका गीत गुञ्जिए । प्रशासनले निषेधाज्ञा खोलेको भए पनि भीडभाडमा रोक लगाएकाले त्यसको पूर्ण कार्यान्वयन भएको पाइयो ।

मन्दिरमा पूजाका लागि पुग्नुभएकी पूजा साउदलाई पनि यस वर्षको तीज खल्लो लाग्यो । बिहानै मन्दिरमा पूजा गरेर साथीसँग रमाइलो गर्दै बजारका चोकचोकमा लाग्ने तीज कार्यक्रममा नाच्दै साँझ घर पुग्ने दिन कहिले आउँलाजस्तो भएको उहाँले बताउनुभयो । तीज पर्व महिलाका लागि विशेष पर्व भए पनि त्यो उत्साह र उमङ्ग यस वर्षको तीजमा देखिएन उहाँले भन्नुभयो, “नाचगान गर्दै रमाइलो गर्ने दिन गए । अब घरमै बसेर टिभी हेरी दिन बिताउनुको अर्को विकल्प छैन ।

कैलाशेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले मन्दिरमा पूजा गर्न आउने भक्तजन विगत वर्षहरूमा जस्तो भीडभाड नरहेको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण भक्तजन मन्दिरसम्म पुग्न सकेका छैनन् । विगतका वर्षमा आजको दिन मन्दिरमा भीडभाड नियन्त्रण गर्नै मुस्किल हुने गथ्र्याेँ । हजारौँ भक्तजन दर्शनका लागि मन्दिर पुग्थे”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा पनि यस वर्ष नागरिकमा झन् बढी त्रास देखिएको छ भने कोरोनालाई अहिले गम्भीररूपमा लिन थालेकै कारण भीडभाड हुन छोडेको हो ।”

टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले कोरोना सङ्क्रमणका कारण नै तीज पूजामै सीमित रहेर सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि विगत छ महिना लामो बन्दाबन्दीले आर्थिकरूपमा पनि निकै अप्ठ्यारो अवस्था सिर्जना गरेको बताउँदै सबैमा उत्साहभन्दा बढी दुःखको बोझ भएकाले पनि तीजमा चहलपहल कम भएको बताउनुभयो । “अधिकांशका घरमा उत्साहभन्दा बढी दुःख छ । आर्थिकरूपमा निकै ठूलो चुनौती अहिले ल्याएको छ”, उपप्रमुख विष्टले भन्नुभयो, “सबै कुरा आर्थिकसँगै जोडिने भएका कारण यो वर्षको तीज ‘स्पेसल’ हुन सकेन । मनमा पीडाको भारी बोकेर कसरी उत्साह ल्याउन सकिन्छ र ?”

महिलामा मात्रै उत्साह नभई व्यावसायिकरूपमा पनि यस वर्ष निकै प्रभाव परेको स्थानीयवासी किराना व्यापारी नन्दसिंह विकले बताउनुभयो । “विगत वर्षमा यस्ता चाडपर्वमा दैनिक एक लाखभन्दा बढीको कारोबार हुन्थ्यो । यस वर्ष दैनिक १० हजारको पनि व्यापार भएन”, उहाँले भन्नुभयो, “चाडपर्व आयो भनेर मात्राभन्दा बढी सामान मगाइयो । ब्यापार छैन, कसरी ऋण तिर्नेहोला ? कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको लामो बन्दाबन्दीका कारण नागरिकसँग पैसा नभएकै कारण व्यापारमा पनि त्यसको असर परेको व्यापारी नन्दसिंहको भनाइ छ ।

टीकापुरमै कपडाको व्यावसाय गर्दै आउनुभएका श्याम खनाल पनि यस वर्षको तीजको चहलपहल नदेखेर चिन्तित हुनुभएको छ । विशेषगरी उहाँको व्यापार हुने भनेकै तीजमा हो । यस वर्ष उहाँलाई व्यापार राम्रो हुने अपेक्षा थियो तर त्यो हुन सकेन । मेरो मात्रै होइन, बजारमा जुनसुकै क्षेत्रमा पनि व्यापार छैन । पसल कुरेर ग्राहक पर्खेर बस्नुपर्ने बाध्यता छ । कहिलेकाहीँ त पसल खोल्नुमात्रै पनि हुन्छ उहाँले भन्नुभयो, बजारमा मान्छेको आवतजावत नै छैन, कसरी ब्यापार हुने हो ? अहिले मानिससँग पैसा पनि छैन, पैसा भएपछि पो सामान किन्न बजार आउने हुन्, उहाँको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronaviruscovid 19 updateCovid-19CultureDeathhealthLockdownNepali NewsRainReligions
Comments (0)
Add Comment