‘सफा–सुन्दर’ नारामै सीमित

२४ भदाै, काभ्रेपलाञ्चोक । केही दिनअघिसम्म साँझ परेपछि बनेपा नगरपालिका कार्यालयसँगैको बसपार्क, चारदोबाटो र मुख्य चोकमा फोहर फाल्नेको घुइँचो लाग्ने गर्दथ्यो । करिब एक महिनापछि उद्यान र चोकका डङ्गुर फोहर उठाएपछि अहिले नगर कार्यालय अगाडि फोहर फाल्न आउनेलाई लखेट्न केही युवा परिचालन गरिएको छ ।

बनेपाले ‘वैकल्पिक व्यवस्था नभएसम्म’ आफ्नो बाध्यता बुझिदिन स्थानीयवासीलाई आग्रह गर्दै आएको पनि बर्षौँ भइसक्यो । यी गतिविधिले नगरले आ–आफ्ना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा चार वर्षअघिदेखि गरेको अपिल पनि कार्यालय र सञ्चारमाध्यमको भित्तामै सीमित भएको छ । “आजभोलि त फोहर सङ्कलन हुनै छाड्यो, नगरले घरबाट निस्कने फोहर बिसर्जन गर्ने दीर्घकालीन व्यवस्था नगर्दा नगरवासी निकै मारमा परेका छन्”, स्थानीयवासी पारस श्रेष्ठले भन्नुभयो ।

वर्षौँदेखि बनेपामै फोहर फल्दै आइएको स्थानमा स्थानीयवासीले रोक लगाएपछि नगरले वैकल्पिक स्थान छनोट गर्दा स्थानीयवासीकै विरोधका कारण व्यवस्थापन गर्न सकिरहेको छैन । दीर्घकालीन स्थानको व्यवस्थापनमा लागिरहेका छौँ, केही समयपछि बनेपामा फोहरको समस्या हट्नेछ”, नगरप्रमुख लक्ष्मीनरसिंह बादेले भन्नुभयो । उहाँका अनुसार एक बर्षसम्म ठूलो खर्च गरी काठमाडौँमा समेत लगेर फोहर व्यवस्थापन गरिएको थियो ।

स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले कार्यालय, चोक र स्थानीय सञ्चारमाध्यमको भित्तामा स्थानीय बासिन्दामा आ–आफ्ना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न खर्चिलो विज्ञापन गरे । हालसम्म स्थानीय एफएममा सरसफाइका सूचना बजिरहेका छन् । सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ महाअभियानमा सहयोग पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो अपिल गर्दै आएका हुन् । तर हालसम्म पनि मुख्य बजार, बाक्लो बस्तीका चोकमा फोहरको डङ्गुरनै देखिन्छ ।

जनप्रतिनिधिका गाडी त्यही फोहरको डङ्गुर छेउबाटै दौडिरहेका देखिन्छन् । धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरका चोकमा फोहर थुपारिएका हुन्छन् भने बजारमा यत्रतत्र फोहर फलिएका छन् । गाउँपालिकाको ‘मुकाम’मा पनि फोहरको समस्या देखिन्छ । “प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न सक्छ, राख्नुपर्छ यसमा विशेष ध्यान दियौँ भने बस्ती सफा, सुन्दर र हराभरा हुन्छ”, पनौती नगरप्रमुख भीम न्यौपानेले भन्नुभयो । उहाँले आफ्ना घर वरिपरिको खाली जमिनमा तथा खेतबारीका छेउछाउमा फलफूलका बिरुवा रोप्नसमेत नगरवासीमा अनुरोध गर्दै आउनुभएको छ ।

स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिको एउटै प्रकृतिका ‘सफा–सुन्दर’को नारा तथा सुझाव तथा अपिल छन् । घरका भान्छाबाट निस्कने फोहरलाई कुहिने र नकुहिले छुट्याएर राख्न, आफ्नो घर अगाडिको नालामा फोहर नफाल्न तथा आफैँले सधैँ सफा बनाइराख्न, बाटो, नाला, चोक, गल्ली, जताततै फोहर हुँदा घरको सुन्दरता, पानीको निकास र घुमफिर गर्ने ठाउँसमेत दुर्गन्धित हुनाले सरसफाइमा सचेत भई सचेतना गराउनसमेत स्थानीय तहले अनुरोध गर्दै आएका छन् ।

नमोबुद्ध नपाप्रमुख टङ्कप्रसाद शर्मा भन्नुहुन्छ, “घरलगायत हरेक क्षेत्रको सरसफाइ गर्न स्थानीय सरकारसँगै नागरिकको पनि कर्तव्य हुन्छ, यसैले हामीले सभ्य भई सभ्यताको परिचय दिन सक्नुपर्छ”, अपिलमा सरल र सर्भसुलभरूपमा उपलब्ध हुने सिमेन्टका बोरा प्रयोग ल्याई फोहर सङ्कलन गर्ने वस्तुको उपयोग गरी बिनालगानी सरसफाइको व्यवस्थापन गर्न सकिने उपायसमेत सिकाइएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका तथा सात गाउँपालिका छन् ।

“नगरवासीले बजारबाट ल्याइने प्लाष्टिकजन्य झोला, चाउचाउको खोल तथा अन्य प्याकिङका सामग्री घरमै सङ्कलन गरी पालिकाबाट आउने फोहर सङ्कलनकर्तालाई दिने बानी बसाल्नु भन्दै आएका छौँ पाँचखाल नगरप्रमुख महेश खरेलले भन्नुभयो । उहाँले सामूहिकरूपमा हप्ताको एकदिन स्वयंसेवकका रूपमा सार्वजनिकस्थल, धार्मिकस्थल तथा मन्दिर, पोखरी, पर्यटकीयस्थलको सरसफाइमा समय दिन गरेको आग्रहसमेत लागू भएको पाइँदैन ।

बस्ती सुन्दर र स्वच्छ बनाइराख्न वनजङ्गलको संरक्षण गरी खाली जमिनमा वृक्षरोपण गर्न तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ स्थानीयवासीलाई आग्रह गर्दै आएको पनि चार वर्ष नाघिसक्यो । जथाभावी रुख नकाटी, प्राकृतिक जडीबुटीको समेत संरक्षण गर्नुपर्दछ, वनलाई आफ्नो जीवनजत्तिकै माया गर्नुपर्दछ, आफू मात्र होइन, सन्ततिलाई पनि स्वच्छ वातावरणमा बाँच्ने आधार दिनसक्नुपर्दछ उहाँ भन्नुहुन्छ । गाउँपालिकाको मुकाम पोखरी नारायणस्थान बजारमा पनि फोहरको समस्या उस्तै देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathdigitalkhabarfohorhealthLockdownNepali NewsRain
Comments (0)
Add Comment