माधव नेपालसहित १४ जनामाथिको कारबाही अघि बढाउन एमालेको दबाब, सभामुखले भने- अध्ययनकै क्रममा छु

०३ भदाै, काठमाडाैँ । नेकपा (एमाले)ले पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई छिटो पदमुक्त गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन्।

बिहीबार सभामुखको कार्यकक्षमै पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसहितले किन कारबाहीको सूचना जारी नगरेको भनि सभामुखसँग जवाफ माग गरेका थिए। माधवकुमार नेपालसहितका १४ सांसदलाई पार्टीको गतिविधि विरोधी र दलको ह्विप उल्लंघन गरेकाले छिटो पदमुक्त गर्न उनीहरुले सभामुखसँग माग गरेका थिए। 

संसद् सचिवालयमा कारबाही गरिएको व्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद् चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने संसदीय परम्परा भएकाले अध्ययनको क्रममा रहेको सभामुख सापकोटाले जवाफ दिएका छन्।

अलग पार्टी गठनका लागि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि एमालेको संसदीय दलको बैठक बसेर माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गरि पत्र संसद् सचिवालयमा दर्ता गरेको थियो। संसद् सचिवालयसँगै एमालेले निर्वाचन आयोगमा पनि त्यसको जानकारी गराउँदै उनीहरु पार्टीको साधारण सदस्य समेतबाट निष्काशनमा परेकोले अद्यावधिक गरिदिन भनेको थियो।  

तर, संसद् सचिवालयले एमालेले कारबाही गरेका सांसदहरुको विषयमा सूचना निकाल्न ढिला गरेको भन्दै बिहीबार एमाले नेताहरू ध्यानाकर्षण गराउन पुगेका हुन्। 

सभामुखको ध्यानाकर्षण गराउन प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरीसहित सांसदहरु कृष्णभक्त पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, निरु पाल पुगेका थिए। सभामुखको ध्यानार्षण गराएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले यसअघि यसरी नै गरिएको कारबाहीमा सभामुखले तुरुन्तै सूचना जारी गरेकोले अहिले ढिलो गरेर चलखेल गर्न नहुने बताए।

विगतमा संसद् सचिवालयले पार्टीले निर्णय गरे लगत्तै कारबाही गरेको सूचना निकाल्ने गरेको तर यसपटक ढिला गरेपछि आफूहरु पुगेको प्रमुख सचेतक भट्टराईले बताए।

जनता समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गर्दा र  माओवादी केन्द्रले एमाले प्रवेश गरेकाहरुलाई कारबाही गरिएको पत्र आएको केही घण्टामै सूचना जारी भएकोले यो पनि जारी हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment