खोपलाई ‘सलाइन पानी’ संग साटिदिएपछि

३१ साउन, एजेन्सी । जर्मनीमा एक नर्सले कोभिड–१९ खोपलाई ‘सलाइन पानी’ ले साटिदिएको खुलासा भएपछि पुलिस अनुसन्धान सुरु भएको छ । उत्तरपश्चिम जर्मनीस्थित जिल्ला प्रशासक, सभन एम्ब्रोसीका अनुसार उनले यस वर्ष मार्च र अप्रिलका बीच कोभिड खोपको सट्टा सलाइन पानीलाई सुइमा राखिदिएकी थिइन् ।

एम्ब्रोसीले भनेका छन्, “आज मैले दुःखी हुँदै सबैलाई यो खबर दिनुपरिरहेको छ कि यस घटनाबाट झन्डै ८ हजार ६ सय मानिस प्रभावित भएका छन् । उनीहरुले खोप केन्द्रमा सलाइन सल्युसनयुक्त सुइ लगाएका हुन सक्छन् । त्यसैले मनको शान्तिका लागि भएपनि खोप लगाइसकेका सबैलाई हामी पुनः सुइ लगाउन सुझाव दिन्छौँ । ”

उक्त खोप केन्द्रमा तिनै नर्सलाई सबै सिरिन्ज व्यवस्थापन गर्ने जिम्मेवारी दिइएकाले पनि उनले खोप साट्न सकेको बताइएको छ । अहिले स्थानीय निकायहरुले मार्च ५ देखि अप्रिल २० का बीच रोफहोसन केन्द्रमा कोभिड–१९ को खोप लगाएका सबै मानिसहरुलाई खबर गर्न र अर्को डोज खोप लगाइहाल्न भनेका छन् ।

‘लोअर स्याक्सोनी स्टेट हेल्थ अफिस’ का निर्देषक मेथिआस प्लजले भनेका छन्, “यस्तो परिस्थितिबाट प्रभावित भएकाहरुले पुनः सुइ लगाएर खोप अभियानलाई निरन्तरता दिन जरुरी छ । यसले मात्र खोपबाट पूर्ण सुरक्षा प्राप्त भएको सुनिश्चित गर्न सकिनेछ । यदि कसैले पहिले सहि रुपमै खोप प्राप्त गरिसकेको भएपनि फेरि लगाउँदा केही फरक पर्नेछैन ।”

पुलिस अनुसन्धानमा अभियोगी नर्स खोप अभियान विरुद्ध रहेको पाइएको छ । सलाइन सल्युसन मान्छेका लागि हानिकारक नभएतापनि तीन हप्ताको बीचमा धेरै सङ्ख्यामा मानिसहरु यसबाट प्रभावित भएको हुन सक्ने बताइएको छ ।

मंगलबार मात्र जर्मनीमा चान्स्लर एन्जेला मर्केलले सबै नागरिकहरुमा खोप लगाउन अपील गरेकी हुन् । डेल्टा भेरियेन्टका कारण देशभर संक्रमण दर बढ्दै गएकाले खोप अभियानमा अहिलेसम्मको सबै सफलता खेर जान सक्ने उनले बताएकी हुन् ।

उनले देशका ८० प्रतिशत जनसङ्ख्यामा छिटै खोप लगाइसक्ने आशा रहेको बताइन् । हालसम्म ५५.१ प्रतिशत जर्मनहरुले पूरा डोज खोप लगाएका छन् ।

आगामी सेप्टेम्बरदेखि खोप लगाइसकेका र योग्य जेष्ठ नागरिकहरुलाई तेस्रो बुस्टर डोजको कोभिड खोप लगाउन सुरु गरिने यसअघि जर्मन स्वास्थ्य मन्त्रायले जानकारी दिएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCNNCoronavirusCovid-19digital khabarGermanyhealthLockdownnepalNewsNSPoliticVaccine
Comments (0)
Add Comment