कांग्रेसमा महाधिवेशनको भन्दै नयाँ कार्यतालिका ल्याउन माग

२१ साउन, काठमाडाैँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् ।

सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ । तर क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन हुन नसकेको छ । युवा नेताहरुले त्यसै कारण चौधौं महाधिवेशन अनिश्चित बनेको भन्दै यसले पार्टीको गरिमामा ठूलो क्षति पुगेको बताएका छन् ।

महाधिवेशन समयसीमाको अन्तिम क्षण पुग्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि समेत प्रश्न उठ्न थालेको उल्लेख गरेका छन् ।

‘विधान र नियमावली अनुरुप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यताको विवाद समधान गरी धर्ना र अनशनलगायतका गुनासाहरुको सम्बोधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस्’ उनीहरुले भनेका छन् ।

नेताहरुले विभिन्न राजनीतिक दलबाट नेपाली कांग्रेसमा समाहित हुने नेताहरुले पहिल्यैदेखि कांग्रेसकै समर्थक, सदस्य र शुभचिन्तक रहेका व्यक्तिहरुलाई नै कागजी रुपमा नवप्रवेशी बनाई हजारौं क्रियाशील सदस्यता वितरण गरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् ।

विधिवत रुपमा महाधिवेशन सम्पन्न नहुने, नेविसंघ, तरुण दल लगायतका भातृ एवं शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि वर्षौंदेखि नगर्ने हो भने नेपाली कांग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको ऊर्जा अभिप्रेरित गर्न नसकिने युवा नेताहरुले बताएका छन् ।

यस्ता गतिविधिले आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी हुने भन्दै उनीहरुले लोकतन्त्र र कांग्रेसलाई जोगायन सम्पूर्ण पुस्ताको सहभागिता सहितको विधिवत महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment