बागमती प्रदेश सरकारले ९ हजार रुपैयाँसम्म बढायो कारमा लाग्ने वार्षिक कर

०२ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै सबै किसिमका कार, जिप, भ्यान, माइक्रोमा लाग्ने वार्षिक करका दरमा परिमार्जन गरेको छ । प्रदेश सरकारले १ हजारदेखि ९ हजार रुपैयाँसम्म वार्षिक कर वृद्धि गरेको हो ।

सरकारले १ हजार सीसीभन्दा कम क्षमताका कारमा २२ हजार र १००१ सीसीभन्दा माथि १५ सय सीसीसम्मका लागि २५ हजार रुपैयाँ वार्षिक कर लाग्ने बनाएको छ । अघिल्लो वर्ष १ हजार सीसीभन्दा कम क्षमताका कारमा कर २१ हजार रुपैयाँ थियो भने हजार सीसीभन्दा माथि १५ सय सीसीसम्मका लागि २३ हजार ५०० रुपैयाँ वार्षिक कर थियो ।

१५०१ सीसी देखि २ हजार सीसीसम्मका लागि अब २७ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसअघि सवारी धनीले २५ हजार ५०० रुपैयाँ तिर्दै आएका थिए ।

२५ सय सीसीसम्मका सवारी धनीले अब ३७ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसमा पनि सरकारले १५ सय रुपैयाँ बढाएको छ ।

३ हजार सीसीसम्मका लागि अब ५० हजार तिर्नु पर्ने भएको छ । यसअघि ४१ हजार रुपैयाँ थियो ।

३५ सय सीसीसम्मका लागि अब ६० हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसअघि सवारी धनीले ५८ हजार ५०० रुपैयाँ वार्षिक कर तिर्दै आएका थिए ।

३५ सय सीसीभन्दा माथिका साधनमा अब ६५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ ।

याे पनि हेर्नुहाेस् : सवारी साधनको कर बढ्यो कुनको कति ?



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment