प्रधानमन्त्रीका प्रेस सल्लाहकारको अभिव्यक्तिप्रति माधव नेपालको आपत्ति

२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार राति कार्यदलबीच भएको सहमतिको गलत व्याख्या गरेको भन्दै आपत्ति जनाएका छन्।

आइतबार राति एमाले कार्यदलले १० बुँदे सहमति जुटाएपछि हर्षित हुँदै प्रेस सल्लाहकार थापाले अब सर्वोच्च अदाललते प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवलाई प्रधानमन्त्री नियुक्तिको आदेश नदिने दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका छन्। यससम्बन्धी मुद्दाको फैसला आज असार २८ गते सुनाउने भनेर अदाललते यसअघि भनेको छ।

थापाको अभिव्यक्ति कार्यदल स्तरमा भएको छलफलको मर्मविपरीत रहेको पनि नेपालको भनाइ छ । ‘हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्मविपरीत छ । यो व्याख्या गलत र अस्वीकार्य छ,’ नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसद सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

प्रतिनिधिसभा पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी एमालेका नेपालपक्षका २३ सहित १४६ सांसदले दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ । सोही सन्दर्भमा थापाले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउनेमा अब १२३ सांसद मात्र रहेको उल्लेख गर्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए । उनको टिप्पणीमा पछिल्लो सहमतिपछि सर्वोच्चबाट परमादेश र प्रतिनिधिसभा पुन:स्थापना दुवै नहुने आशय झल्किन्छ । उनले लेखेका छन्, ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६- २३ = १२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुन:स्थापना !’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment