सानदार जितसहित स्पेन नकआउट चरणमा

१० असार, एजेन्सी । स्पेन समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन् । मोराटाको पेनाल्टी प्रहार स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले बचाए ।

तर, खेलको ३० औं मिनेटमा गोलकिपर मार्टिनको आत्मघाती गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै पहिलो हाफमा स्पेनलाई २-० को अग्रता दिलाए । जेरार्ड मोरेनेको पासमा उनले हेड मार्फत गोल गरेका हुन् ।

स्पेनको लागि उनको यो पहिलो गोल हो । लापोर्ट हालै फ्रान्सबाट स्पेन सरुवा भएका थिए । स्पेनको नागरिकता प्राप्त गरेसँगै फिफाले लापोर्टलाई स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्न अनुमति दिएको थियो ।

२६ वर्षीय डिफेन्डरले यस अघि फ्रान्सको युवा टिमबाट खेलेका थिए । तर, उनले फ्रान्सको सिनियर टिमबाट भने खेल्ने मौका पाएका थिएनन् ।

खेलको ५६ औं मिनेटमा सराबियाले जोर्डी अब्लाको पासमा गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए ।

६७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए । मोराटाको स्थानमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका उनले सराबियाको पासलाई सदुपयोग गरे ।

त्यसपछि खेलको ७१ औं मिनेटमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले ५-० को जित निकाल्यो । पाउ टोरेसको हेडर बल जुराजको खुट्टामा लाग्दै गोल भएको थियो ।

यससँगै समूह ‘ई’ मा रहेको स्पेनले पहिलो जित समेत निकालेको छ ।

स्पेनले ३ खेलमा ५ अंक जोड्यो र समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो ।

स्पेनले अब अन्तिम १६ मा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

स्लोभाकियाले ३ खेलमा ३ अंक जोड्यो । स्लोभाकिया समूहको तेस्रो स्थानमा रह्यो ।

स्पेनसँगको फराकिलो हारसँगै स्लोभाकिया समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा पोल्याण्डलाई हराएको स्लोभाकिया दोस्रो खेलमा स्विडेनसँग १-० ले पराजित भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment