निषेधाज्ञा लम्बिएपछि व्यापारीले सटर खाली गर्न थाले

०१ असार, वीरगञ्ज । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा लम्ब्याउँदै गएपछि व्यापारीहरूले आफूले व्यापार व्यवसाय गर्दै आएको सटर खाली गर्न थालेका छन् । जारी निषेधाज्ञाका कारण सटरको भाडा तिर्न समस्या भएको भन्दै व्यापारीहरूले सटर खाली गर्न थालेका हुन् ।

महामारी नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा पछिल्लोपटक १ साताका लागि थप गरेर आगामी असार ७ गते सम्मका लागि लम्बाइएको छ । सरकारले पटकपटक थपिरहेको निषेधाज्ञाको मारले सटर खाली गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताएका छन् ।

पछिल्लो १ साताभित्र काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, बुटवल, नेपालगञ्जलगायत करीब १५ सयभन्दा बढी व्यापारीहरूले सटर खाली गरेको र यो क्रम बढिरहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार यसरी सटर खाली गर्नेहरूमा करीब ५० प्रतिशत व्यापारी काठमाडौं उपत्यकाभित्रका रहेका छन् । काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू ठमेल, न्यूरोड, असन, इन्द्रचोक, कोटेश्वर, कलंकीलगायत स्थानमा सटर खाली हुने क्रम बढेको उनले बताए ।

सटर खाली गरेर जानेहरूमा धेरैजसो फेन्सी, जुत्ता चप्पल पसल र होटेल व्यवसाय गरिरहेका साना व्यापारीहरू रहेका छन् । गतवर्ष पनि लामो बन्दाबन्दीका कारण काठमाडौं उपत्यकाभित्र मात्रै व्यापारिक प्रयोजनका करीब ४० प्रतिशत सटर खाली भएको महासंघको तथ्यांक छ । आर्थिक अभियान दैनिकमा खवर छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment