विदेशमा अलपत्र नेपालीको विजोग, उडान नभएसम्म केही गर्न सकिदैन

२८ जेष्ठ, काठमाडौं । विदेशमा नेपालीहरू अलपत्र परेर विजोग छ । वैदेशिक रोजगारमा गएकाहरुको रेमिट्यान्समा रमाउछ सरकार । तर उनीहरु अवस्था के छ भन्ने बारेमा भने कहिले गम्भीर बनेको पाइन्न । सरकारले आफुहरुलाई नहेरेको गुनासो गरिरहेका उनीहरुप्रति यो कोरोनाकालमा सरकार झनै उदासिन बनेको आरोप पनि वैदेशिक रोजगारमा गएकाहरुको छ ।

विश्वलाई कोरोनाले आक्रान्त पारेपछि धेरैले रोजगारी गुमाउँदा ठूलो संख्यामा नेपालीहरु घर फर्किए । कोरोनाको पहिलो चरणमा सरकारले नै बिभिन्न चरणमा उद्दार गरेर डेढ लाख बढी नेपाली नागरिकलाई विदेशबाट फर्कायो ।

तर यसरी फर्किएकाहरु धेरै दिन देशभित्र टिक्न र रम्न सकेनन् । कारण यहाँ दोहोरिने उही बेरोजगारीको नियति । कोरोनाको दोस्रो चरण सुरु हुन दैनिक सातसयसम्म नेपाली नागरिक विदेशिएका थिए । तर कोरोनाको दोस्रो लहर सुरु भएपछि जारी गरिएको निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धले उड्न चाहनेहरु रोकिएका छन् ।

अझै पनि वैदेशिक रोजगार विभागले हरेक आइतबार र बुधबार श्रम स्वीकृति भने दिदै आएको छ । आफैमा विरोधाभाषपूर्ण देखिएको यो कार्यबीच विदेशबाट फर्कन चाहनेहरुको अवस्था भने दयनीय छ । दक्षिण एसियाकै अन्य मुलुकहरुले आफ्नो देशको झण्डाबाहक विमान पठाएर आफ्ना नागरिकको भने उद्दार गरे तर फर्कनका लागि टिकट काँटिसकेका नेपालीहरुको अवस्था भने दयनीय बनेको छ ।

उनीहरुमाथि कसैले न सोधखोज गरेको छ नत कसैले चासो नै देखाएको छ । स्मरणीय छ गत आर्थिक बर्षको नौ महिनामा ६ खर्ब २६ अर्ब रेमिट्यान्स देश भित्रिएको थियो भने यो आर्थिक बर्षको चैतसम्ममा १६ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको थियो ।

‘अरु देशको विमान आएर लगे हाम्रो भने आएन’

यो पीडा हो उनीहरुको । जो देश फर्कन चाहँदा चाहदै पनि विदेशी भूमिका अलमलमा परेका छन् । कतिपय टिकट काँटेर स्वदेश फर्कन ठीक्क पर्दा अन्तर्राष्ट्रिय उडानमा पुनः प्रतिबन्ध लाग्यो । जस्को कारण देश फर्कन चाहेका अस्सी हजार बढी नेपाली नागरिक विदेश भूमिका नै थुनिएका छन् ।

काममा फर्कौ कम्पनीबाट विदा लिइसकेको अवस्था छ भने बसौं घर लान कमाएको रकम रित्तिने अवस्था छ । यति मात्र नभइ ८० बढी नेपाली नागरिकको शव पनि फर्काउन नसक्दा उनीहरुको परिवार थप पीडामा परेका छन् । वैदेशिक रोजगारको क्रममा मृत्यु भएकाहरुको सबभन्दा बढी शव अहिले साउदी अरेयिबा र मलेशियामा रहेको छ ।

सरकारले आगामी आइतबारदेखि उद्दार थाल्ने

तर सरकारले भने विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई आगामी आइतबारदेखि फर्काउने तयारी थालेको छ । सरकारले पहिलो चरणमा कतारमा रहेका नेपालीहरु फर्काउने र मलेशियाबाट पनि चाँडै फर्काउने गरि तयारी थालेको छ ।

पुन श्रम स्वीकृतिः यता सुरक्षाका कुरा उता असुरक्षित

कोरोना महामारीले धेरै देशको अर्थतन्त्रमा धावा बोल्दा खाडीका मुलुकका रोजगारदाता दर्जनौ कम्पनीहरुको अवस्था पनि नाजुक बनेको छ । सरकारले श्रम स्वीकृति लिएको ६ महिनासम्म वैदेशिक रोजगारीमा नगए पुनः श्रम स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ ।

यो रोजगारीमा जानेहरुको सुरक्षाकै लागि हो भन्ने सरकारी तर्क छ । तर पुनः श्रम स्वीकृति लिएर जाँदा रोजगारदाता कम्पनीले काम नदिने गरेको पीडा पनि धेरै नेपालीको छ । कोरोनाका कारण कुन कम्पनीको पछिल्लो अवस्था के छ भन्ने बारेमा जानकारी नलिइ मेनपावर कम्पनी र कामदार स्वयं विदेश जान आत्तिने प्रवृतिले धेरै समस्याहरु उब्जेको सरकारी निष्कर्ष छ ।

बिभिन्न कारणले गर्दा बैदेशिक रोजगारी सुुरक्षित हुन नसक्दा यस्लाई थप व्यवस्थित र मर्यादिन बनाउने आवाज उठिरहे पनि सरकारले सम्बोधन गर्न नसक्दा समस्या झन बढेको विज्ञहरुको निष्कर्ष छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment