त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनमा नवनियुक्त पर्यटनमन्त्री अरगरिया

२७ जेठ, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन्।

बुधबार दिउँसो मन्त्री अरगरिया मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयका महाप्रबन्धक प्रतापबाबु तिवारीलगायतका अधिकारी अवलोकनमा विमानस्थल पुगेका हुन्। अवलोकनको साथै बुधबार नै मन्त्री अरगरियाले विमानस्थलको नवनिर्मित आगमन कक्षको उद्घाटन गरेका छन्।

मन्त्री अरगरियाले अवलोकनको क्रममा कर्मचारीलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन्। कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनसमेत मन्त्री अरगरियाले निर्देशन दिएका छन्।

‘हामी सेवाका लागि यो ठाउँमा आएका छौँ। पर्यटक र नागरिकलाई हामीले दिने सेवालाई चुस्त दुरुस्त बनाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अरगरियाले भने, ‘सेवा दिँदा कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्ने कुरामा सदैव सचेत रहनुहोला।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment