बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत रेग्मी

२७ जेठ, काठमाडौं । बेलायतका लागि २१ औं नेपाली राजदूतका रुपमा कार्यभार सम्हाल्दै आएका लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीय समक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार लन्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत रेग्मीले ‘भर्चुअल’ माध्यमबाट आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत भएको थियो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् ।

उक्त समारोहमा रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको सम्वृद्धिको कामना गरेका थिए ।

ओहोदाको प्रमाण पत्र बुझ्दै महारानीले राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी थिइन् । महारानीले बेलायत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्दै नेपालको विकासमा सहयोग गर्ने बेलायत सरकारको प्राथमिकता रहेको बताएकी थिइन् ।

आफूले गरेका नेपालको दुईवटा ऐतिहासिक भ्रमण स्मरण गर्दै महारानीले नेपालमा कोरोना संक्रमण र खोपको अवस्थाबारे समेत चासो व्यक्त गरेको लन्डनस्थित नेपाली दूतावासले बुधबार जनाएको छ । सो समारोहमा राजदूत रेग्मीले ब्रिटेन नेपालबीचको दुई सय वर्ष भन्दा लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक( आर्थिक विकासमा पुर्याएको सहयोगप्रति सराहना गरेका थिए । साथै कोभिडविरुद्धको लडाईँमा बेलायती सहयोगका लागि पनि राजदूतले धन्यवाद दिएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment