कोरोनाका कारण देभभरको नयाँ शैक्षिक सत्र अन्योलमा

१७ जेठ, जोमसोम । कोरोनाका कारण थलिएको देभभरको शैक्षिक संस्थाको प्रभाव हिमाली जिल्ला मुस्ताङको ५ स्थानीय तहमा समेत परेको छ । बर्सेनि फागुनको पहिलो साता सञ्चालन हुनुपर्ने यहाँको नयाँ शैक्षिक सत्रको पठन/पाठन कोरोना माहामारीका कारण अन्योलमय बनेको हो ।

कोरोनाको दोस्रो भेरियन्टसँगै मुस्ताङका विद्यालयले जोखिम मोलेर चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्न गरेका थिए । मुस्ताङका ५ स्थानीय तहका सामूदायिक ,निजी र गुम्बा विद्यालयमा जनजीवन सामान्य नभएको र अझै विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ ।

मुस्ताङका ५१ सामुदायिक विद्यालयसहित निजी र गुम्बा विद्यालयहरुले गत वैशाख १० गते देखि वैशाख मशान्तसम्म कोभिड-१९ को जोखिम मोलेर हतार/हतारमा वार्षिक परीक्षा सम्पन्न गरेका थिए । शिक्षा विकास तथा समन्वय ईकाईको पहलमा मुस्ताङका ५ स्थानीय तहको समन्वयमा आर्थिक वर्ष २०७८ को नयाँ शैक्षिक सत्रको पठन/पाठन जेठ १ गतेबाट सञ्चालन गर्ने भनिएकोमा कोरोनाको दोस्रो भेरियन्ट समुदायस्तरमा फैलिएपछि आगामी शैक्षिक सत्रको पढाइ अन्योल बनेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए ।

यसअघि मुस्ताङका स्थानीय तह ,शिक्षकका पेशागत संघ/संगठनका प्रतिनिधि र जिल्लाका माध्यमिक तहका प्रधानाध्यापकको संयुक्त बैठकले जेठ १ गतेबाट नयाँ शैक्षिक सत्रको पढाइ सुरवात गर्ने निर्णय गरेका थिए ।

पछिल्लो समय मुस्ताङमा कोरोनाको दोस्रो लहर समुदायस्तरमा फैलिदै गइरहेकाले विद्यालयको शैक्षिक सत्रको पठन/पाठन सुरु गर्ने वातावरण बन्न नसकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख बरालले उल्लेख गरे । यस्तै, मुस्ताङका ५ स्थानीय तहले पनि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने विषयमा कुनै निर्णय गरेका छैनन् ।उनीहरुले जिल्लामा कोरोना संक्रमणको अवस्था सुधार भइ जनजीवन सामान्य भएको अवस्थामा मात्र विद्यालय खोल्ने अवस्था रहेको बताएका छन् ।

देशभरका ७ सय ५३ स्थानीय तह मध्ये हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमा मात्र चालु वर्षको वार्षिक परीक्षा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङको भनाइ छ ।

मुस्ताङको थासाङमा वैशाख ९ गते ,घरपझोङमा वैशाख १० गते,वारागुङ मुक्तिक्षेत्रमा १२ गतेदेखि वार्षिक परीक्षा सुरु गरिएको थियो भने उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा वैशाख १५ गतेबाट वार्षिक परीक्षा सञ्चालन गरेका थिए ।

सरकारले हिमाली जिल्ला मुस्ताङसहित मनाङ ,हुम्ला ,मुगु र डोल्पा लगायतमा बर्सेनि फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्रको पठन/पाठन र मंसिरमा वार्षिक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

तर, मुस्ताङका विद्यालयले भने कोभिड माहामारीकाबीचमै औपचारिक रुपमा वार्षिक परीक्षा सम्पन गरेका थिए ।कोरोनाको पहिलो लहरसँगै प्रभावित बनेको मुस्ताङका शैक्षिक संस्थाहरुले वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कन तथा परीक्षाका आधारमा वार्षिक परीक्षा सम्पन्न गरेको स्थानीय तहले जनाएका छन् ।कोरोनाको पहिलो चरणदेखिनै प्रभावित मुस्ताङका विद्यालयमा केही महिना मात्र शैक्षिक पठन/पाठन भएको बताइएको छ ।

यसअघि आर्थिक वर्ष २०७७ को शैक्षिक सत्रको पठन/पाठन समन्वय ईकाई तथा संम्वन्धित स्थानीय तहको समन्वयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ र वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका बमोजिम पढाइ सञ्चालन गरेका थिए ।

तर,भौगोलिक रुपले विकट उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा भएका विद्यालयलाई मन्त्रालयले निर्देशन गरेको कार्यविधि अनुसार पढाई सञ्चालन गर्न चुनौति बनेको थियो ।त्यहाँ रेडियो,टेलिभिजन र ईन्टरनेटको पहुँच नहुँदा वैकल्पिक माध्यमको शिक्षा सहजीकरण निर्देशिका बमोजिम बढाइ हुन सकेको थिएन ।

मुस्ताङका ५ स्थानीय तहका विद्यालयले बार्षिक परीक्षा सकेपछि सम्बन्धित शिक्षक घरतर्फ प्रस्थान गरेका छन् । यस्तै ,मुस्ताङका अधिकांश विद्यालयमा जिल्ला बाहिरका विद्यार्थी पढ्ने भएकाले शिक्षक र बिद्यार्थीकै कारण नयाँ शैक्षिक सत्रको पढाइ अन्योल बनेको स्थानीय बताउँछन् ।मुस्ताङमा कोरोनाका कारण संक्रमितको संख्या दिनानुदिन वृद्धि हुँदै गइरहेको छ ।

कोरोनाकै कारण शनिबारसम्म ११ जना व्यक्तिले ज्यान समेत गुमाएका छन् । कोरोना संक्रमण बढेसंगै स्थानीय प्रशासनले गत जेठ ३१ गते देखि नियमित मुस्ताङमा निषेधआज्ञा लगाइएको छ ।

यस्तै ,कोरोना जोखिमकै कारण मुस्ताङका ५ वटै स्थानीय तहका ९६ गाउहरुमा मुखियाले बन्दीबन्दी गरेका छन् । देशभर कोरोनाको दोस्रो भेरियन्ट बढिरहेको अवस्थामा सरकारले शैक्षिक सत्रको परीक्षा तथा नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने बारेमा ठोस निर्णय गर्न नसकेकाले पनि मुस्ताङको शैक्षिक सत्र अन्योल बनेको हो ।

यता ,सरकारको निर्देशन बमोजिक शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले नया शैक्षिक सत्रको पढाइ सञ्चालनको आन्तरिक तयार गर्नुपर्ने भन्दै सूचना गरेपनि विद्यालयका प्रअहरु कोरोनाका कारण कार्यस्थल र्फिर्कन सक्ने अवस्था नरहेको समन्वय ईकाईले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment