वीरगन्जमा निषेधाज्ञा फेरि एक साता लम्बियो

०५ जेष्ठ, वीरगन्ज । पर्सा जिल्लामा वैशाख १६ गते देखि जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ ६ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ १३ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा, संक्रमणको साङगलो तोड्न (चेनब्रेक ) उपयोगी देखिएकाले जेठ १३ गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पर्सा जिल्लामा वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक वैशाख २३ गतेबाट पुनः थप गरी वैशाख ३० गतेसम्मका लागि लम्बाइएको थियो । त्यसपछि दोस्रोपटक वैशाख ३० गतेबाट जेठ ६ गते बिहीबारसम्मका लागि थप गरिएको थियो । बुधबार तेस्रो पटक थप गरी जेठ १३ गतेसम्मका लागि निषोधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

बुधबारको डिसिसिएमसीको बैठकले वीरगन्जका निजी अस्पतालमा संक्रमितको उपचारको अवस्था र अस्पतालले लिने गरेको सेवा शुल्कका विषयमा अनुगमन गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले अस्पतालमा अक्सिजन आपूर्तिको सहज व्यवस्था मिलाउने , एन्टिजेन किटका लागि संघ र प्रदेशका स्वासथ्य मन्त्रालयमा आग्रह गर्ने निर्णय पनि गरेको पौडेलले जानकारी दिए ।

बैठकले वीरगन्जको नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागि ठेक्का भइसकेको भएपनि ठेकेदारले काम सुरु नगरेकाले समयमै काम सम्पन्न गर्न सम्बन्धित ठेकेदारलाइ ताकेता गर्ने निर्णय पनि गरेकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment