मातातीर्थ औंसीको महत्व यस्तो रहेको छ।

२६ बैशाख, काठमाडौं । मिति २०७८ साल बैशाख २८ गते मंगलबार कृष्णपक्ष औंशी तिथि राती ११ / ५४ बजेसम्म, त्यस उप्रान्त वैशाखशुक्ल प्रतिपदा तिथि आरम्भ याे दिन मातातिर्थस्नान ,आमाको मुख हेर्ने दिन हो।

आमा के हो ?सवैले बुझ्नु जरुरी छ !

मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग अलग दिनमा आ-आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ। यो दिन मातातिर्थ औंसी

{आमाको मुखहेर्ने दिन }हो। “मातृदेवोभव”

अर्थात् आमालाई देवता समान मान भनिएको हुनाले आमाको गरिमा सवैभन्दा ठूलो छ। नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खाद्दपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्।आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन्।

कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो।आमा घरको गहना ,शोभा हो किनकि उहाँ बिनाको घर – घर नै होइन। त्यसैले आमा संसार देखाउने मुहान हो किनकि आमा बिना यो संसार नियाल्न गाह्रो छ। आमा लक्ष्मी या देवी हुनुहुन्छ उहाँको कारणले पुरुषहरुलाई देदिप्यमान र सम्पन्न बनाउनुहुन्छ।

यस संसारमा आमाको महिमा ठुलो छ। “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी। नास्ति गङ्गासमं तिर्थं नास्ति मातृसमो गुरु “अर्थात् आफ्नो आमा, आफु जन्मेकोठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ ,गङ्गा समान तिर्थ हुँदैन र आमा समान कुनैपनि गुरु हुँदैन्। त्यसैले सबैले सर्वाधिक श्रद्धा आमालाई नै गर्दछन र आमा नै सबै प्राणीको निम्ति पहिलो गुरु हो। उहाँ बाट संसार सिकिनेहुँदा हामीहरुले सर्वप्रथम आमालाई ढोगेर अनि मात्र पितालाई ढोग्नु पर्दछ।

“कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ”

अर्थात् सन्तान कुपुत्र हुनसक्दछ तर आमा कदापि कुमाता हुनसक्दिनन्। त्यसैले आमा प्रति श्रद्धा ,भक्ति ,निष्टावान भएर उहाँले कुनै कार्य अह्र्याउनु भन्दा पहिले नै त्यो कार्य सम्पादन गर्ने प्रथम कोटीको हुनेछ, त्यो कार्य अह्राएपछी गर्ने मध्यम कोटीको र गर्दै नगर्नेचाहीं अधम कोटीको हुनेछ। जो प्रथम कोटिमा पर्दछ भने त्यसलाई सवैले प्रेम र सद्भावको दृष्टिले हेर्दछन् । त्यसैले जसले आमालाई सत्कार गर्दछ उसको घरमा देवभावाको उदय भै त्यसको घरमा स्वर्ग निवास गर्दछन।

“उपाध्यायन्दशाचार्य आचार्याणां शतं पिता।
सहस्रं त पितृन् माता गौरवेणातिरिच्यते”/

अर्थात् आमाको गौरव उपाध्यायभन्दा दश लाख गुणा, आचार्यभन्दा लाख गुणा र पिताभन्दा हजार गुणा बढी छ। त्यसैले आमालाई बाँचुन्जेल मिठोबोलि ,माया – प्रेम ,सद्भाव ,सेवा ,उपकारगरि जसले जीवन बिताउँछ त्यसलाई भगवानले उसले चिताएको फल दिएर अन्त्यमा आफ्नु धाममा निवास गराउनु हुनेछ। मातातिर्थ काठमाडौं जिल्लाको थानकोट महादेवस्थान गाविसमा अवस्थित छ।

आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो। त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आपना आमालाई मुक्त गराउन सक्छन्। स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्।

पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादापुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो।

पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गंगामाताको स्तुति गर्न थाल्नुभयो। ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो ।

त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ। उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो।त्यसैले आमाको बिषयमा जति लेखे पनि अपुरो नै रहन्छ अस्तु।

पं-बालमुकुन्द देबकाेटा

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AyurvedaBal MakundabusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthMedicineMothers DaynepalNewsPandit Bal Makunda Devkota