कोरोना महामारीकाे कारणले बदलेकाे यौन जीवन

१९ बैशाख, बीबीसी । “कोरोना महामारी अघि धेरै दम्पती रातमा भेट हुने जहाज जस्ता थिए”, टेक्ससस्थित सेक्स थेरापिष्ट इमिली जामिया भन्छिन् । पहिले घरबाहिरका काममा बढी व्यस्त हुने दम्पतीका लागि लकडाउनले राहत प्रदान गर्यो । लामो समय घरमै बस्न बाध्य भएका उनीहरुले अन्तरंग समय बिताउने मौका पाए ।

तर लकडाउन बढ्दै जाँदा उनीहरुको यौन चाहनामा कमी आएको अध्ययनले देखाएको छ । अमेरिका, भारत, इटाली र टर्की लगायतका ५७ देशमा गरिएको यी अनुसन्धान अनुसार लकडाउन बढ्दै जाँदा जोडीमा यौन चाहना र निकटता घटेको पाइएको हो ।

“मलाई लाग्छ धेरै मानिसहरु तनावपूर्णस्थितिबाट गुज्रिरहेकाले यस्तो प्रभाव परेको हो,” किन्सी इन्स्टिच्युटका सामाजिक मनोविज्ञ जस्टिन लेमाइलरले भने ।

महामारीका कारण गरिएको लकडाउनले धेरैमा अनिश्चितता र त्रास सिर्जना गरेको थियो । धेरैले यसअघि कहिले नभोगेको स्वास्थ्यसम्बन्धी चिन्ता, वित्तिय असुरक्षा र अन्य महत्वपूर्ण परिवर्तनहरु भोगे ।

एकै व्यक्तिसँग लामो समयसम्म बन्द कोठामा बस्नुपर्दा र अन्य कारणले उत्पन्न तनावले गर्दा यौन चाहनामा कमी भएको अध्ययनकर्ताहरु बताउँछन् । एक प्रकारले कोभिड–१९ यौन सम्बन्धका लागि विषाक्त प्रमाणित भएको छ । के महामारी नियन्त्रण भएपछि हाम्रो यौन जीवन सामान्य बन्छ वा यौन जीवनमा यसले दीर्घकालीन असर गर्छ ?

सामाजिक मनोविज्ञ रोन्डा बल्जारिनीका अनुसार लकडाउनको सुरुको समय दम्पतीका लागि हनिमुन जस्तै थियो । मानिसहरु चिन्तालाई रचनात्मक ढंगले प्रतिक्रिया दिइरहेका थिए ।

“समय बित्दै जाँदा संसाधनहरुको अभाव हुन थाल्यो । यसले मानिसहरुलाई थप तनावग्रस्त बनायो,” बल्जारिनी भन्छिन्, “यस्तो हुँदा दम्पतीबीच समस्या बढेको देखिन्छ ।”

उनका अनुसार यस अध्ययनको ठूलो निष्कर्ष भनेको तनाव, डिप्रेसन र यौन चाहनाबीचको सम्बन्ध हो । महामारीको सुरुमा तनावग्रस्त व्यक्तिहरुमा डिप्रेसन ‘ट्रिगर’ नभइसकेको उनी बताउँछिन् । “जब तनाव लामो समयसम्म रहन्छ, मानिसहरु थकित हुन्छन् । र डिप्रेसनले यौन चाहनामा नकारात्मक प्रभाव पार्छ,” उनले भनिन् ।

महामारीले दैनिक जीवनमा ल्याएको तनावसँगै अस्पताल भर्ना हुने र मृत्युदर बढेपछि भाइरसको ठूलो खतरा महसुस गरियो । यो खतराले पनि दम्पतीको अन्तरंग मुड बिगार्न भूमिका खेल्यो ।

महामारीको सुरुमा दम्पतीहरु दिउँसो सँगै नुहाउनेजस्ता यौनाकांक्षा जगाउने कार्यमा संलग्न भएको पाइयो । सामान्यभन्दा ज्यादा कामुक यस्ता गतिविधिले दम्पतीको यौन चाहनामा कमी आएको बल्जारिनीको बुझाई छ ।

उनी यसलाई ‘ओभरएक्सपोजर इफेक्ट’ भन्छिन् । यसरी अति घुलमिल हुँदा आफ्नो पार्टनरको कतिपय साना साना व्यवहारले पनि रिस उठ्ने गर्छ । “दीर्घकालीन सम्बन्ध कायम राख्ने हो भने आफ्नो पार्टनरका बारेमा केही रहस्यको भावना र दूरी हुन आवश्यक छ,” उनी भन्छिन्, “एक अर्काको निकट भइरहँदा रहस्यको भावना हराउँछ ।”

यौन चाहना फर्काउन सकिन्छ त ?

दम्पतीको यौन जीवन सुधार गर्न यौन व्यवहारमा परिवर्तन ल्याउन अध्ययनकर्ताहरुले सुझाव दिएका छन् । अध्ययनमा सहभागी पाँच मध्ये एक जनाले बेडमा केही नयाँ प्रयास गरे, जसले यौन चाहना र आत्मियतालाई पुनर्जिवित गरेको पाइयो ।

तर यौन गतिविधि घटेको केही सम्बन्धले अहिलेसम्म गति लिन सकेको छैन । के यस्ता सम्बन्धमा स्थायी क्षति पुग्छ ? यो विषय विभिन्न कुरामा भरपर्ने विज्ञहरु बताउँछन् । लेमिलरका अनुसार केही सम्बन्ध ठीक नहुन पनि सक्छ । किनकि उनीहरुसँग निकै लामो समयसम्म निकटता थिएन ।

तर धेरै व्यक्तिका लागि भने आशाको सञ्चार पनि भएको छ । धेरै मानिसहरुले खोप लगाएसँगै व्यवसाय पुनः सुचारु भएपछि अधिकांश सम्बन्ध पुरानै अवस्थामा पुग्छन् । यसले दाम्पत्य जीवनमा सकारात्मक असर पर्नेे अध्ययनकर्ताहरु बताउँछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment