उतारचढावबिच सम्हालिने प्रयासमा नेप्से

राजेन्द्र तिवारी

१५ बैशाख, काठमाडौै । उतारचढावबिच सम्हालिने प्रयासमा नेप्से । सेयर बजार बुधबार केही सुस्त देखिएको छ । केही दिनयताको तीब्र उतारचढावपछि बुधबार नेप्से विस्तारै सम्हालिने प्रयास गर्दैछ । तथापि, यस दिन बजार सुस्त देखिएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि घटेको छ । अघिल्ला दिनहरुमा भारी अंकले घटेको नेप्से मंगलबार भने करिब ९२ अंकले बढेको थियो ।

यसरी तीब्र उतारचढावपछि बजार अव विस्तारै सम्हालिने प्रयास गरेको अनुमान लगाउन सकिन्छ । बिहीबारदेखि जारी हुने लक डाउनका कारण धेरै व्यक्ति उपत्यकाबाहिर जाँदैछन् ।

वाणिज्य बैंकहरुले जगाए आशा । हालसम्म १२ वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट सार्वजनिक गर्ने अधिकांश बैंकको अवस्था उत्साहजनक देखिएको छ । धेरै बैंकको खुद नाफा, ब्याज आम्दानी, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी लगायतका महत्वपूर्ण सूचकहरुमा आकर्षक वृद्धि भएको छ ।

गत वर्ष कोरोना महामारीका कारण अर्थव्यवस्था शिथिल बन्दा बैंकहरुको प्रगति खस्किएको थियो । लक डाउनका कारण आर्थिक गतिविधि न्यून भएको थियो ।

तर पछिल्लो समय अर्थतन्त्र चलायमान बन्दा बैंकहरुको व्यापार बढेको छ । जसका कारण बैंकहरुमा सकारात्मक प्रभाव परेको देखिएको छ । यद्दपि, कारोना महामारीको चुनौती अझै कायमै छ । यसलाई कतिपय बैंक व्यवस्थापकहरुले मुख्य चुनौती र समस्याको रुपमा विश्लेषण गरेका छन् । चुनौती जे जस्ता भए पनि बैंकहरुको वित्तीय अवस्था मजबुत बन्दा त्यसको सकारात्म प्रभाव सेयर बजारमा पनि पर्छ ।

यसमा कतिपय लगानीकर्ताहरु पनि परेका हुन सक्छन् । सोही कारण पनि बुधबार सेयर बजार सुस्त हुनमा केही सहयोग पुगेको अनुमान छ । साथै, बजारमा देखिएको उच्च उतारचढावका कारण अझै पनि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ कै रणनीतिमा बसेकाले पनि बुधबार नेप्से सुस्त बनेको विश्लेषकहरुको भनाई छ । ठूला उतारचढावपछि केही दिन नेप्से सुस्त हुने गरेको विगतको पनि उदाहरण छ ।

यसरी उतारचढावपछि बजार केही दिन साइडवेजमा पनि जान सक्छ । त्यसपछि फेरि नयाँ गति लिन सक्ने कतिपयको अनुमान छ । तथापि, बजारको गति र प्रवृत्तिका बारेमा कसैले ठोकुवा गर्न सक्दैन । विभिन्न आधारहरुमा अनुमान लगाउने मात्र हो । यतिबेला लगानीकर्ताहरु उत्साहित भएर बढी भाउ पनि नतिर्ने अनि आत्तिएर निकै सस्तो मूल्यमा सेयर बिक्री गर्ने दुवै प्रवृत्ति देखिएको छैन । यसले पनि बजार सुस्त बनाएको फ्रन्टलाइनमा बसेर कारोबार गर्ने ब्रोकरहरुको भनाई छ ।

बजारमा उतारचढावहरु आइरहने भएकाले लगानीकर्ताले ठोस समय योजनासहित सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर खरिद गर्दा दैनिक हुने उतारचढावबाट तनाव लिनु नपर्ने अुनभवीहरु सुझाव दिने गर्छन् । बलियो वित्तीय अवस्था भएका कम्पनीहरु छानेर लगानी गर्न पनि उनीहरुले सुझाव दिने गरेका छन् । तेस्रो त्रैमासमा औसतमा रिपोर्टहरु राम्रो आएको छ ।

सेयर बजारको सिजन पनि लागेको छ । बैंकिङ प्रणालीमा सहज उपलब्ध हुने तरलता र सस्तो ब्याजदरले पनि बजारलाई दीर्घकालमा माथितिरै लैजाने अपेक्षा गर्न सकिन्छ ।

नेप्से सूचक १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा अडिएको छ । ३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१५ कम्पनीको ८९ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ३ समूहको सूचक वृद्धि भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । खरिदबिक्री रकममा २८ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment