एक डोज खोपले कोभिड संक्रमणदर कम गर्ने अध्ययनको दाबी

११ बैशाख, बीबीसी । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएपछि कोभिड–१९ संक्रमण हुने सम्भावना तीव्र रूपमा घट्ने एक अध्ययनले देखाएको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) र अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानले एस्ट्राजेनिका वा फाइजरको पहिलो डोज खोपले संक्रमणको जोखिम घटाउने देखाएको बीबीसीले जनाएकाे छ ।

दुई ओटा अध्ययन समावेश गरिएको अनुसन्धान बेलायतका तीन लाख ७० हजार मानिसको भाइरस परीक्षणमा आधारित रहेको समाचारमा जनाइएको छ ।

खोपको एक मात्राले पनि हरेक उमेर समूहका मानिसमा मजबुत एन्टिबडी बनेको पाइएको छ । समूहका हरेक व्यक्तिमा दुवै खोपको केही प्रभाव पाइएको अनुसन्धानकर्ताले बताएका छन् ।

पहिलो अध्ययनमा अक्सफोर्ड वा फाइजरको एक डोज लिएकाहरू पुनः संक्रमित हुने सम्भावना ६५ प्रतिशतले कम भएको पाइएको थियो । पहिलो डोज दिएको तीन हप्तापछि लक्षणसहितको संक्रमण ७४ प्रतिशतले कम हुँदा लक्षणविनाको संक्रमण ५७ प्रतिशतले घटेको पाइएको बताइएको छ ।

फाइजरको दोस्रो डोज लिएकाहरूमा संक्रमण हुने सम्भावना ९० प्रतिशतले घटेको पाइएको थियो । तर निकै कमले मात्र एस्ट्राजेनिकाको दोस्रो खोप लगाएकाले यसको यस्तै प्रकारको तथ्यांक आकलन गर्न नसकिएको जनाइएको छ ।

यी दुवै खोप केन्ट/बेलायती भेरियन्टको विरुद्धमा निकै प्रभावकारी पाइएको अनुसन्धानकर्ताको दाबी छ । यद्यपि खोप लगाएकाहरूमा फेरि संक्रमण हुने ज्यादै कम सम्भावना भने बाँकी नै हुने भएकाले भौतिक दुरी कायम गर्न उनीहरूले सुझाव दिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment