सिरहामा सुनचाँदी व्यापारीको घर लुटपाट, घरमा पार्किङमा राखिएको जिप लिएर फरार

३१ चैत, सिरहा । जिल्लाको लहान नगरपालिका ७ का एक सुनचाँदी व्यापारीको घरमा लुटपाट भएको छ । सोमबार राती हतियारधारी समूहले सुनचाँदी व्यापारी राजेश सारडाको घरमा लुटपाट गरेको हो । हतियारधारी समूह राजेशको घरमा प्रवेश गरी उनका पिता भगीरथ सारडा र श्रीमतीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटपाट भएको प्रहरीले जानकारी दिएको छ ।

लुटेराहरू घरमा प्रवेश गरेलगत्तै प्रतिकारमा उत्रिएका भगीरथ र राजेशकी श्रीमतीमाथि पनि आक्रमण भएको छ । आक्रमणमा परेर उनीहरु दुवैजना घाइते भएका छन् । करिव ७–८ जनाको समुहमा आएका हतियारधारी लुटेरा समूहले लकर फोडेर सुनचाँदी लुटेको पीडित परिवारको भनाई छ ।

लुटेराहरूले सारडाको जीप समेत लिएर भागेका छन्। घरमा पार्किङ गरी राखिएको जिपको साँचो बलजफ्ती लिएर हतियारधारी लुटेरा समूह भागेको भगीरथले बताए। घरभित्र तीन जना हतियारधारी समूह प्रवेश गरेको उनले बताए। इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दाहालका अनुसार शनिबार रातीको घटनाको प्रकृतिसँग यो घटना मिल्दोजुल्दो देखिएको बताए । शनिबार राती लहान नगरपालिका–२३ स्थित सुनचाँदी व्यापारी प्रदीपकुमार मिझारको हत्या भएको थियो।

‘त्यही समूहले यो घटना घटाएको हो कि भन्ने शंका छ। हामी हतियारधारी समूह र उनले लिएर भागेको सारडाको जिप खोज्दैछौं’ उनले भने, ‘सूचना पछ्याउँदै छौं, सफलता हात परेको छैन।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment