मस्टा धर्म के हो ? भक्तहरुको जिज्ञाशा अनुसार हामीहरुले पनि बुझ्नु जरुरी छ।

आगामी जनगणनामा मस्ट धर्म लेख्न अपिल गर्नेहरु मस्ट भनेको के हो ?मस्ट कति प्रकारका छन् ?मस्ट शब्दले के जनाउँछ बुझ्नु हुन् अनुरोध गर्दछु।

मस्टा नेपाली समाजका स्थानीय देवता मानिन्छ। मस्टा शब्दले प्रमुख, मुख्य, उच्च, पहाडको चुचुरो, शिव र शक्तिको सेनानी, कुलको उच्च तहमा बसेर दैवी शक्ति तथा संरक्षण दिने देवता हिमाली देवता महादेव र भवानी पछि आउने र कुल देवताको नामले चर्चित स्थानीय दैवी शक्ति, भैरव रुपमा पुजिने स्थानीय देवता, शैव र शाक्त पछिको शक्तिशाली रैथाने देवता, मट्ट्या अर्थात् माटोको अधिपति वा स्थानीय दैवी शक्तिको प्रतिक जस्ता विविध अर्थ जनाउँछ ।

मस्टालाई मैठा, मैठो, मास्ठा, मुइठा, मुस्टो, मस्ट, मुन्ठा, मुन्ठो र मुइठो पनि भनिन्छ। यी सबै शब्दले मास्टालाई नै जनाउँछन्। आफ्नी दिदी भगवती कालिमाथि राक्षसहरुको कुदृष्टि परेको र तिनीहरुले कालिप्रति दुर्व्यवहार गर्ने प्रयत्न गरेकोले ज्यानको परबाह नगरी शिर वा मस्तक थापेर राक्षसहरुलाई सङ्ग्राममा पराजित गर्न सफल भएका यिनलाई मस्तक देवता भनिएको हो र कालान्तरमा सो शब्द मस्टा बनेको हो।यिनलाई छेत्र पाल पनि भनिन्छ।

पुर्खाले मानेका र पुजेका कारण वर्तमान पुस्ताले पनि मस्टालाई मानेको र पुजेको देखिन्छ। यिनको उत्पत्तिको विषयमा ठाउँ अनुसार फरक – फरक कुरा प्रचलित रहेको पाइन्छ।कसैले कैलास वा मानसरोवरमा यिनको उत्पत्ति भएको हो भन्दछन् भने कसैले यी खप्तडमा उत्पन्न भएका हुन् भन्दछन् ।

नामका हिसावले उही उस्तै भएपनि आचार व्यवहार तथा आहार – विहारका दृष्टिले मस्टा अनेकौं प्रकारका पाइन्छन्। ती समस्त प्रकारका मस्टाहरुलाई मोटामोटी रुपमा छुट्याउने हो भने मस्टालाई दुग्धाहारी र मांसाहारी दुई किसिमका भेदमा बाँड्न सकिन्छ।तर नेपाली समाजमा चार किसिमका मस्टाको चलन पाइन्छ ।

१। दुधे मस्टा – यी विशुद्ध शाकाहारी देवता हुन्। यिनलाई शिवजी र गणेशको गणका रुपमा लिइन्छ। दुग्धाहार पाए यी प्रसन्न रहन्छन। यिनका बार छन् ।

२। लडे मस्टा – यी कहीं शाकाहारी र कहीं मांसाहारीका रुपमा देखिन्छन।यिनले सदा संरक्षक भएर आफ्ना उपासकको रक्षा गरेको हुनाले यिनलाई छेत्र पाल आफ्ना क्षेत्रको पालना गर्ने देवता भनिन्छ।

३। दाडे मस्टा – यी मांसाहार अथवा बलि भोग गर्ने देवता हुन्।दाडे मस्टा अर्थात् दाँत भएको र थोत्या मस्टा दाँत नभएको मस्टा गरी दुई रुप हुन्छन। यिनलाई भगवतीको रुप मानिन्छ।यिनको बार भाई छन ।

४। खापडे मस्टा – यी पनि बलि भोग गर्दछन।निकै ठुलो मुख खोलेर विकृत स्वरुपमा हिंड्ने हुनाले यिनलाई खापडे मस्टा भनिएको हो। यिनको प्रमुख वासस्थान खप्तड मानिन्छ। यिनका पनि बार भाई छन् ।

निष्कर्ष – वैदिक सनातन हिन्दु धर्म नै आगामी जनगणनामा लेख्नु पर्दछ। मस्टो धर्म, शिव धर्म ,बुद्ध धर्म ,शाक्त धर्म ,गणपति धर्म ,वैष्णव धर्म आदि नभएर केवल वैदिक सनातन हिन्दु धर्म लेखियो भने हामी सफल हुनेछौं नत्र बिधर्मिहरुले अनेक हौवा फिंजाएर यो धर्म त्यो धर्म भनेर हामी वैदिक हिन्दु धर्मिहरुलाई अल्पमतमा पार्न खोजिरहेका छन। त्यसैले निडर भएर वैदिक सनातन हुन्दु धर्म नै लेख्नुहुन सादर अनुरोध सवैमा गर्दछु।

पं – बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment