रियल म्याड्रिडको सानदार जित

२५ चैत, एजेन्सी । ब्राजिली विंगर भिनिसियस जुनियरको दुई तथा मार्काे एसेन्सियोको एक गोल मद्दतमा स्पेनिस क्लब रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ ।

अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा घरेलु टोली रियलले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै करिम बेन्जेमाको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाउँदा रियल अग्रता लिनबाट चुकेको थियो ।

१३औं मिनेटमा फर्लान्ड मेन्डीको क्रसमा भिनिसियस जुनियरको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २७औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० ले अघि बढाए । टोनी क्रुसको पिन पोइन्ट लङ बल पासमा दुई डिफेन्डरबीचबाट भिनिसियसले गोल गर्न सफल भएका थिए । ३२औं मिनेटमा भिनिसियसको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३६औं मिनेटमा मार्काे एसेन्सियाले गोल गर्दै रियललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । एलेक्सान्डर अर्नाेल्डको गल्तीमा मार्काे एसेन्सियोले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । ५१औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै लिभरपुललाई खेलमा फर्कने संकेत दिए । उनले डिएगो जोटाको पासमा क्लोज रेन्जबाट गोल गर्न सफल हुदा रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

५८औं मिनेटमा करिम बेन्जेमाको प्रहारलाई फिलिप्सले ब्लक गरे । ६५औं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । ७१औं मिनेटमा भिनिसियसको प्रहारलाई फिलिप्सले बचाए । ७७औं मिनेटमा मोहम्मद सलाहको प्रहार बाहिरिदा लिभरपुलले गोल अन्तर कम गर्न सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

यो जितसँगै रियलको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियलले अन्तिम चारको यात्रा तय गर्नेछ । दोस्रो लेग १५ अप्रिलमा एनफिल्डमा हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment