एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ नियुक्त

२३ चैत्र, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पहिलोपटक नेपाली नागरिकलाई सिइओमा नियुक्त गरेको हो ।

खालिङको नियुक्तिसँगै बैंकले स्थापनाको २५ वर्षमा पहिलोपटक नेपाली नागरिकको कार्यकारी नेतृत्व पाएको छ । यसअघि बैंकले भारतीय नागरिकलाई नै सिइओको जिम्मेवारी दिँदै आएको थियो ।

यसअघि ४ वर्षे कार्यकालका लागि नियुक्त भएका सिइओ गजेन्द्रकुमार नेगी १७ महिनाको अवधिमै बिदा भएका छन् । एभरेष्ट बैंकको भारतको पञ्जाब नेसनल बैंकसँग लगानी साझेदारी छ । बैंकले यसअघि पञ्जाब बैंकबाटै प्रमुख कार्यकारी अधिकृत भित्र्याउने गरेको थियो ।

नवनियुक्त सिइओ खालिङसित ३ दशकभन्दा लामो बैंकिङ अनुभव छ । उनले विभिन्न बैंकमा विभिन्न पदमा रही जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसअघि उनी सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए । उनले दुई साताअघि नै सिटिजन्सको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिइसकेको बताइएको छ, यद्यपि संस्थागत रुपमा सार्वजनिक हुन भने बाँकी नै छ । राष्ट्र बैंकले ६ महिने ‘कुलिङ पिरियड’मा लचकता देखाएमा खालिङले तत्कालै एभरेष्ट बैंकको कार्यकारी नेतृत्व गर्न पाउने बाटो खुल्नेछ, अन्यथा उनले एभरेष्ट प्रवेशका लागि ६ महिना प्रतीक्षा गर्नुपर्नेछ ।

खालिङसित प्रमुख कार्यकारी अधिकृतका रुपमा लक्ष्मी बैंकलाई नेतृत्व दिएको अनुभव छ । सिटिजन्स बैंक आउनुअघि उनी लक्ष्मी बैंकमा थिए । कुनै समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा समेत सेवा गरेका खालिङ खारिएका सुपरिचित बैंकर हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment