विमानस्थलमा इन्धन ट्याङ्की र भवन बनाउन एउटैमात्र टेन्डर आह्वान

काठमाडौं । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन ट्याङ्की र भवन बनाउन एउटैमात्र टेन्डर आह्वान गरिएको छ । नेपालमा हवाई इन्धन ट्याङकी बनाउन सक्ने एकमात्र कम्पनी रहेको तर भवन बनाउन सक्ने धेरै भए पनि प्रतिष्पर्धा गर्न नसकिने गरी एउटै टेन्डर आह्वान गरिएको छ ।

आयल निगमको यो कार्यप्रति निर्माण व्यवसायीको असन्तुष्टि रहेको छ ।

पोखरा विमानस्थलमा इन्धन ट्याङ्की र भवन बनाउन एउटै टेन्डर ! निर्माण व्यवसायी भन्छन्– प्रतिष्पर्धा नै नहुने गरी टेन्डर आह्वान गरियो

निगमले गत चैत २ गते हवाई इन्धन ट्याङ्की र त्यसका लागि आवश्यक भवन बनाउन टेन्डर आह्वान गरेको छ । नेपालमा हवाई इन्धन ट्याङ्की बनाउन सक्ने एउटा मात्रै कम्पनी रहेको तर भवन बनाउन सक्ने धेरै व्यवसायी भए पनि निगमले ट्याङ्की र भवन बनाउन एउटै टेन्डर आह्वान गर्दा त्यसमा प्रतिस्पर्धा नै नहुने ती व्यवसायीले दाबी गरे ।

ती व्यवसायीले नेपालमा इन्धन ट्याङ्की बनाउन सक्ने एउटा मात्रै निर्माण कम्पनी रहेको र उसैलाई ठेक्का दिने गरी टेन्डर निकालिएको आरोप लगाए ।

“यो टेन्डरमा एक कम्पनीलाई नै ठेक्का दिने अभिप्रायले टेन्डर आह्वान गरिएको छ,” उनले दाबी गरे, “त्यसैले यो टेन्डरमा धेरै व्यवसायीले प्रतिस्पर्धा गर्न नपाउने गरी टेन्डर आह्वान गरियो ।”

भवन र ट्याङ्कीका लागि छुट्टा–छुट्टै टेन्डर खुला गरिएको भए प्रतिस्पर्धा गर्न सकिने भए पनि निगमले त्यसो नगरेर एउटै कम्पनीको पक्षमा उभिएको आरोप निर्माण व्यवसायीको छ ।

“ट्याङ्की बनाउने कम्पनीले नै भवन पनि बनाउने भएपछि जुन कम्पनीले ट्याङ्की बनाउँछ उसैले अर्को कुनै कम्पनीलाई भवन बनाउन सव–कन्ट्रयाक्ट दिन्छ । यसमा हामीले प्रतिस्पर्धा गर्न नपाइने भयो,” उनले भने ।

यता, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले एउटै आयोजनाका लागि टेन्डर टुक्र्याएर दिन नहुने बताए ।

“हाम्रो समस्या नै टेन्डर टुक्र्याएर दिँदा समयमै आयोजना सम्पन्न भएनन् भन्ने गुनासो छ । यो एउटै आयोजना हो, एउटै आयोजनामा कसरी टेन्डर टुक्र्याएर दिन मिल्छ ?,” उनले भने ।

उनले यो टेन्डर कानुन विपरीत नरहेको पनि स्पष्ट पारे । “एउटा घर बनाउन एउटै व्यवसायीलाई ठेक्का दिने कि ढोका हाल्न, रेलिङ राख्न, पर्खाल लगाउन फरक फरक ठेक्का दिने ?,” उनले भने, “यो टेन्डर पनि सोहीअनुसार एउटै आयोजना भएकाले एउटै टेन्डर आह्वान गरिएको हो ।”

पौडेलले नेपालमा हवाई ट्याङ्की बनाउने नेपाली निर्माण कम्पनी नै नरहेको पनि बताए ।

“अहिलेसम्म हवाई ट्याङ्की बनाउने स्वदेशी निर्माण कम्पनी छैन । यो निर्माण कार्यमा स्वदेशी निर्माण कम्पनीलाई समेत सहभागिता गराउने गरी टेन्डर आह्वान गरिएको छ,” उनले भने । उनले कुनै एक कम्पनीलाई ठेक्का दिने अभिप्रायले टेन्डर आह्वान गरिएको भन्ने आरोप पूर्ण गलत र हावादारी रहेको बताए ।

निगमले करिब १३ रोपनी क्षेत्रफलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन ट्याङ्की र त्यसका लागि भवन बनाउन लागेको छ ।

करिब ६० करोड रुपैयाँ लागतमा इन्धन ट्याङ्की र भवन बनाउन निगमले टेन्डर आह्वान गरेको छ । ६० करोड रुपैयाँमध्ये करिब १ करोड ५० लाख रुपैयाँ मात्रै भवनका लागि रहेको पनि पौडेलले स्पष्ट पारे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment