आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिइने : मन्त्री भट्ट

२१ चैत, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उनले आवश्यकता भए थप इजाजत दिने बताए ।

आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उनले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गरे ।

उनले आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको समेत बताए । “निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न हामी लागिपरेका छौँ, राष्ट्रिय पेट्रोलियम नीतिको मस्यौदा तयार भइसकेको छ, थप छलफल गरी नीति ल्याउछौँ”, उनले भने ।

पेट्रोलियम व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको सङ्घको निर्वाचन एक वर्षपछि हुन लागेको हो ।

आगामी कार्यकालको अध्यक्षका लागि हालका अध्यक्ष लिलेन्द्र प्रधान र विश्व अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने एशोशिएसनले जनाएको छ । देशभर रहेका करिब एक हजार ५०० बाट छनोट भएका ३४४ पम्प व्यवसायी निर्वाचनमा सहभागी हुनेछन् ।

रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment