नेपाल बैंकको डिजिटल महाअभियान

१७ चैत, बुटवल । नेपाल बैंक लिमिटेडले डिजिटल लुम्बिनी प्रदेश महाअभियान सञ्चालन गरेको छ। ग्राहकलाई बैंकिङ प्रविधिसँग जोड्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय बुटवलले अभियानको थालनी गरेको हो। अभियानअन्तर्गत बैंकले शनिबार रुपन्देही क्षेत्रमा रहेका ग्राहकलाई ‘क्यूआर कोड’ वितरण गरेको छ।

डिजिटल भुक्तानीमा पछिल्लो समय धेरैले रुचाएको क्यूआर कोड अर्थात् क्विक रेस्पोन्स कोडको पहुँचलाई नेपाल बैंकले सबै ग्राहकसामु पु¥याउने लक्ष्य लिएको जनाएको छ। उद्योगी, व्यवसायी, संघ, संस्था, कार्यालय र व्यक्तिगत प्यान नम्बर लिएका ग्राहकले यसको सेवा लिन सक्ने प्रादेशिक कार्यालय बुटवलका प्रमुख लेखनाथ भुसालले बताए। 

‘डिजिटल इकोनोमी अवधारणाअनुसार क्यूआर कोडको सेवालाई प्राथमिकता दिएका हौं’, भुसालले भने, ‘बढ्दो सूचना र प्रविधिलाई आत्मसाथ गरे मात्र ग्राहकको मन जित्न सकिन्छ।’ उनले प्रदेशभर नै यस सेवालाई तीव्र रूपमा अघि बढाउने योजना सुनाए। 

बैंकिङ कारोबारलाई छिटोछरितो, सहज र सुरक्षाको प्रत्याभूति दिलाउन क्यूआर कोडको सेवा महत्वपूर्ण हुने उनले बताए। ग्राहकको घरदैलोमा पुगेर यसबारे सचेतना दिने भुसालले जानकारी गराए। 

नेपाल राष्ट्र बैंकले आव २०७६÷०७७ को मौद्रिक नीतिमा नेपालको भुक्तानी नीति डिजिटल बनाउने योजना ल्याएको राष्ट्र बैंक सिद्धार्थनगर शाखा प्रमुख सुदिप फुयाँलले जानकारी गराए। देशभर क्यूआर कोडको सेवा लिने हालसम्म १ लाख ४० हजार १ सय ३४ जना पुगेको उनले जानकारी गराए। यसमध्ये राजधानी बाहिर सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ३७ हजार ग्राहकले यसको सेवा लिएका छन्। यसको प्रयोगले नेपाली नोटको प्रिन्टिङ खर्चलाई समेत कटौती गर्ने उनले बताए। रुपन्देही क्षेत्रमा रहेका अटो रिक्सा व्यवसायीमा समेत यसको प्रयोग गरिएको छ। 

क्यूआर कोडको प्रयोग गर्दा दु्रत इन्टरनेट सेवाको पहुँच अनिवार्य हुन्छ। क्षमतासहितको इन्टरनेट पहुँचलाई विस्तार गर्न स्थानीय सरकारसँग पहल गर्ने बैंकले जनाएको छ। आर्थिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बाबुराम अधिकारीले सरकारले अघि सारेको डिजिटल प्रदेशको परिकल्पनालाई यस महाअभियानले सघाउ पु¥याउने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी सेवाग्राहीलाई क्यूआर कोड प्रदान गरिएको छ। कार्यक्रमको सहजीकरण नेपाल बैंक लिमिटेड भैरहवा शाखामा कार्यरत कर्मचारी माधव शाहीले गरेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment