६१ वर्षीय दुर्गाप्रसादले पाए नागरिकता

१३ चैत, विराटनगर । ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामको माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनाले बल्ल नेपाली नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार ६१ वर्षीय दुर्गाप्रसादलाई नागरिकता प्रदान गरेको हो।

नागरिकताका लागि उनका कान्छो भाइका छोरा गोपाल तिम्सिनाले सनाखत गरेका छन्। दुर्गाप्रसादका बुवा चम्पाखरको मृत्यु भइसकेको, आमा धनमाया बुढ्यौलीले कमजोर भएकाले सदरमुकाम आउन नसकेका कारण भतिजालाई सनाखत गराइएको प्रशासकीय अधिकृत देवीचरण फुयाँलले बताए। दुर्गाप्रसादको नागरिकता बनाउन बुधबार वडा कार्यालयले सिफारिस गरेको थियो।

‘दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने भएकाले पनि उहाँलाई नेपाली नागरिकताको आवश्यकता थियो’, प्रशासकीय अधिकृत फुयाँलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘उहाँ अब नेपाली नागरिक बन्नुभयो।’ उक्त नागरिकतामा प्रशासकीय अधिकृत फुयाँलले हस्ताक्षर गरेका छन्।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले दुर्गाप्रसादलाई वंशजका आधारमा नागरिकता दिइएको बताए। नागरिकतामा उनको जन्म २०१७ साउन २० गते साबिकको एकतप्पा गाविसमा भएको र हालको ठेगाना माई नगरपालिका १० लुम्बाक राखिएको छ। भारतको पश्चिम बंगालका जेल र कोलकातास्थित उच्च अदालतका कागजातमा भने उनको नाम दीपक जैसी छ।

नेपाली नागरिक भएको मुख्य प्रमाण नागरिकता रहने, यसले भारतमा नटुंगिएको अदालती प्रक्रियासमेत टुंग्याउन सहज हुने प्रमुख जिल्ला अधिकारी खड्काले बताए। ‘नागरिकतासँगै नाता प्रमाणित गरेर कागजात पनि बनाइएको छ’, खड्काले भने, ‘यो नाताप्रमाणितको कागजात भारतीय अदालतमा आवश्यक पर्छ।’ भारतीय अदालतमा पेस गर्न बुधबार भाइ प्रकाश, भतिज गोपाल र दुर्गाप्रसादको नाता प्रमाणित गरिएको हो।

भारतको दार्जिलिङबाट हत्या अभियोगमा पक्राउ परेका उनलाई जेल प्रशासनको कमजोरीमा बिनासुनुवाई बिभिन्न जेलमा पु¥याइएको थियो। भारतीय अदालतले केही दिनअघि स्वास्थ्य अवस्थाको कारण देखाउँदै ६÷६ महिनामा उपस्थित हुने गरी छाड्न आदेश दिएपछि उनी जेलबाट छाडिएको हो।

सुरुमा कम बोलेका दुर्गाप्रसादको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएकोले थप उपचार गर्न प्रदेश १ सरकारले चासो दिएको छ। भतिज गोपालका अनुसार उनी सामान्य कुरा गर्न थालेका छन्। झापाबाट एक जना डाक्टर स्वास्थ्य परीक्षण गर्न माई नगरपालिका–१० जाने जनाइएको छ। प्राथमिक स्वास्थ्य परीक्षणपछि कसरी उपचार गर्ने भनेर निर्णय लिइने भएको छ।

‘कन्सल्टेन्ट डाक्टरले आएर कुन ठाउँमा कुन डाक्टरलाई देखाउने भनेपछि हामी त्यही अस्पतालमा पु¥याइदिन्छौँ र उपचार गर्छौं’, खड्काले भने, ‘त्यसको खर्च प्रदेशको सामाजिक विकास मन्त्रालयले व्यहोर्नेछ। त्यसको व्यवस्थापनमा जिल्ला प्रशासन लाग्ने हो।’

कोलकातास्थित उच्च अदालतले सोमबार दुर्गाप्रसादलाई प्रारम्भिक क्षतिपूर्ति पाउनुपर्ने बताएको थियो। उनको मुद्दामा फैसला आएपछि अदालतले क्षतिपूर्तिको निर्णय गर्ने जनाइएको छ। प्रदेशको आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले उनलाई क्षतिपूर्ति दिलाउने प्रक्रियामा प्रदेश १ सरकार लाग्ने बताए।

गोपालले दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एकै हो भन्ने सिफारिस बनाई थप अदालती प्रक्रियामा पहिलेका वकिलसँग छलफल गरिने बताए। ‘अब कोलकाता गएर महावाणिज्य दूतावासको तर्फबाट यो मुद्दा लडिरहेका वकिलसँग छलफल गरी कसरी अघि बढ्ने भन्नेमा लाग्नु छ’, उनले भने, ‘प्रदेश सरकारले साथ दिएको छ पक्कै ठुलो बुवाले न्याय पाउनुहुनेछ।’

महावाणिज्यदूत ईश्वरराज पौडेलले आफू पीडितका परिवारसँग नियमित सम्पर्कमा रहेको बताए। आवश्यक अन्य सहयोग गर्न तयार रहेको पौडेलले अन्नपूर्णलाई बताए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment